रविले अमेरिकी राहदानी त्यागेको निस्सा प्रशासन र अध्यागमनसँगै छैन !
काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौं र अध्यागमन विभाग दुवैतिर नभेटिएपछि सांसद रहेका लामिछानेलाई अर्को संकट थपिएको छ ।


सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय काठमाडौलाई लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा भए उपलब्ध गराउन पत्र पठाएको थियो।अदालतको पत्रको जवाफमा कार्यालयले ‘राहदानी त्यागसम्बन्धी निस्सा यस कार्यालय सम्बन्धित नरहेको’ भन्दै पत्रको जवाफ पठाएको छ।
यसैगरी सर्बोच्च अदालतले अध्यागमनसँग पनि सोही प्रकृतिको निस्सा माग गरेकोमा यस अगाडि लामिछानेको मुद्दाको सवालमा सक्कल फाइल पठाएको र सो अदालतमै रहेको जवाफ लेखी पठाएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता निष्क्रिय रहेको प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौबाट गत माघ १५मा सक्रिय गराएका थिए। लगत्तै उनले राहदानी विभागमा गएर आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्दै लिएको नेपाली राहदानी फिर्ता गरेका थिए।
उनी विरुद्ध राहदानी दुरुपयोगमा परेको जाहेरीमा प्रहरीहुँदै न्यायाधीवक्ताको कार्यालयले दुरुपयोगको नियत नदेखिएको भन्दै मुद्दा दर्ता गर्नु नपर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो।
नागरिकता निष्क्रिय रहेको अदालतबाट ठहर भएसँगै चितवन-२ मा बैशाख १० मा उपनिर्वाचन सम्पन्न भै लामिछाने दोस्रोपटक बिजयी भएका थिए ।
Comments
