प्रधानमन्त्रीले राज्यकोषबाट लुट्न पाइदैन-पहाडी

८० करोड १६ लाख बाड्न लागेको आरोप

काठमाडौं,४ बैशाख ।

नागरिक अगुवा एवं मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यकोषबाट दुरुपयोग गर्न थालेको भन्दै पत्र लेखेर सचेत गराएका छन् ।

उनले यो चरम आर्थिक संकटको बिचमा पुर्व अयोग्य लडाकुको नाममा रकम दुरुपयोग नगर्न सुझाब समेत दिएका छन् प्रधानमन्त्री प्रचण्डको वर्तमान कार्यकालमा भएका कतिपय निर्णय अहिंसाको शास्वत मुल्य विपरित रहेको भन्दै उनले यस्ता निर्णय शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन बाधक रहेको समेत भनेका छन्।
पत्रमा पहाडीले भनेका छन्–‘प्रधानमन्त्रीका कतिपय निर्णय अन्तर्राष्ट्रिय मानव अधिकार एवं मानवीय कानुनको मर्म विपरित छ भने कतिपय निर्णय  लोकतन्त्रको हितमा छैन।’ उनले सरकारले गरेका त्यस्ता निर्णयको कारण प्रतिगमन चाहनेहरुलाई नै बल पुगिरहेको छ भन्दै ध्यानाकर्षण समेत गराएका छन्।
ह्रासोन्मुख अर्थतन्त्र, चरम आर्थिक संकटको आशंका एवं महंगीका कारण नागरिकहरु आहत भएको बेला बढ्दो राज्यकोषको दुरुपयोग भएको भन्दै संयुक्त राष्ट्रसंघ मिसनले नै अयोग्य घोषित गरि बहिर्गमन भएका ४ हजार ८ जना पूर्व माओवादी लडाकु प्रत्येकलाई रु. २ लाखका दरले ८० करोड १६ लाख बाड्ने सरकारी निर्णय तत्काल खारेज गर्न आग्रह गरेका छन्।
उनले अनमिनले गरेको प्रमाणिकरणमा २ हजार ९७३ जना माओवादी लडाकु २०६३ जेठ ११ गते युद्ध विरामको समयमा १८ वर्ष भन्दा मुनिका रहेको भन्दै युद्धमा बाल सैन्य प्रयोग गरेको स्वतः पुष्टि हुने भएकोले विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा नपुर्याउन्जेलसम्म राज्यकोषमा भार पर्नेगरि उपलब्ध गराइने कुनै पनि प्रकारको सहयोग बन्द गर्न भनेका छन्।
यसैगरी संसदमा हालै प्रस्तुत संक्रमणकालीन न्याय सम्बन्धी संसोधन विधेयक पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित हुने गरी अन्तर्राष्ट्रिय मानव अधिकार तथा मानवीय कानुन र विगतको सर्वोच्च अदालतको फैसला अनुरुप मानव अधिकार मैत्री बनाएपछि मात्र पारित गर्न पनि उनले आग्रह गरेका छन्।
२०६२÷६३ को  ऐतिहासिक जनआन्दोलनको बलमा नै नेपालमा शान्ति प्रक्रियाको शुरुवात हुनुका साथै लोकतान्त्रिक गणतन्त्रको स्थापना संभव भएको र लोकतन्त्र दिवस ११ वैशाख  लाई राष्ट्रिय उत्सवका रुपमा मनाउन समेत भनेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय