‘जनताको छोरो’ राष्ट्रपति भएपछि मञ्चबाट तलै ओर्लेर पदक वितरण !

काठमाडौं, २ वैशाख । राष्ट्रपति भवन शीतल निवासमा शारीरिक रुपमा अशक्त एक वृद्ध अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै थिए । यो दृश्य देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट ओर्लन खोजे ।
त्यहीबेला त्यहाँ रहेका सुरक्षा अधिकारीले राष्ट्रपति त्यसरी जान नमिल्ने संकेत गर्दै थिए । तर राष्ट्रपति पौडेलले त्यसलाई वास्ता गरेनन् । उनि तलै ओर्लेर ती अशक्त वृद्धलाई पदक दिए ।यो दृश्य देखिरहेका पदक लिन आउनेमध्ये एक जनाले यस्तो टिप्पणी गर्दै थिए, ‘जनताको छोरो राष्ट्रपति भएको अनुभूति हुने व्यवहार सधैँ सबैले गरे हुन्थ्यो ।’ ती वृद्ध पुरुष मात्र होइन शारीरिक रुपमा अशक्त भएका वृद्धवृद्धालाई राष्ट्रपति पौडेलले मञ्चबाट तल ओर्लेर सहजै पदक प्रदान गरे।
यसैवीच राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी सो अवसरमा प्रदान गरेका हुन्।
राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री स्व कोइरालालाई दिइएको नेपाल रत्न उहाँंकी परिवारिक सदस्य किरण कोइरालालाई प्रदान गरे। राजनीतिज्ञ स्व.जीवराज न्यौपाने ‘आश्रित’, लाई प्रदान गरिएको राष्ट्र गौरव उहाँंकी धर्मपत्नी माया न्यौपानेलाई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्व.सत्यमोहन जोशीलाई प्रदान गरे।
सुप्रसिद्ध प्रबल जनसेवाश्री डा.जगमान गुरुङलाई प्रदान गरियो । समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको थियो ।

