जति चुनौती भएपनी यो सरकार सफल हुन्छ-प्रधानमन्त्री

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन दिएका छन् ।
पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
‘सरकार र पार्टीको कामलाई योजनावद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधि अनुसार आजबाट भेटघाटको सुरुवात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु’, उनले भने।
प्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौति भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरुले संकल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए।
उनले पार्टीका नेताहरुलाई निर्देशन दिँदै भने- ‘लेखौं, बोलौं र प्रतिक्रियावादी प्रतिक्रान्तिकारीको प्रतिरोध गरौं । हामी सबैले आफ्नो भूमिका पुरा गर्यौं भने हाम्रो तागत ठूलो छ ।सरकारलाई जनताको आशा अपेक्षा अनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौति र जिम्मेवारी हाम्रो काँधमा छ ।’

