
धर्तीमै स्वर्ग अर्थात लटारम्भेश्वर महादेव ! (तस्वीरहरु)
नानु दाहालमकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका-८ मा रहेको लटारम्भेश्वर महादेव मन्दिरको बारेमा धेरैलाई थाहा नहुन सक्छ । यदि थाहा भएर पनि नपुगेको चाहिँ पक्कै धेरै जना हुनुपर्छ ।


काठमाडौंबाट नजिकै भएर पनि लटारम्भेश्वरसम्म पुग्न कठिन र अलिकति संघर्ष चाहिँ अवश्य गर्नुपर्ने रहेछ । हामीले चाहिँ यसपटक त्यो साहस गर्यौं । त्यहा पुग्न सर्वप्रथम काठमाडौंदेखि कान्तिराजपथको बाटो हुँदै करिब ४५ किलोमिटरको यात्रा पार गर्नुपर्ने रहेछ। गाडीको यात्रापछि हिड्नुपर्ने र त्यसमा उकालो ओरालो गरिरहने बानी परेकालाई डेढ घन्टा र अलिकति हिड्न गाह्रो हुनेलाइ २ घण्टा पैदल हिँड्नैपर्छ ।

तर, बाटोको रमणीय दृश्यले त्यो २ घन्टाको हिँडाइ र थकाइ पक्कै बिर्साउने रहेछ । त्यसमाथि त्यो डाँडाको टुप्पोमा पुगेर वरपरका दृश्य हेरेपछि त ‘ओहो ! स्वर्ग भनेको सायद यहीँ हुनुपर्छ’ भन्ने बनाइदिन्छ ।
लटारम्भेश्वरमा धार्मिक आस्था हुनेहरूसंगै प्रकृतिसंग रमाउँदै घुम्न र ट्रेकिङ गर्न जानेहरुको ठुलै भिड लाग्न थालेको छ । हिन्दु धर्ममा उल्लेख भएको पौराणिक कथा अनुसार यस ठाउँको महिमा अनौठो र सत्यसङ्ग पनि जोडिएको छ ।
हामीले स्वस्थानी कथामा पढेको कथा अनुसार नै ‘महादेवकी पत्नी सतिदेवीले देहत्याग गरेपछि महादेवले सतीदेवीको शरीरलाई लिएर हिँडने क्रममा उनको कपाल अर्थात जटा (टाउकाको कपाल) पतन भएको’ स्थानको रुपमा यो क्षेत्र परिचीत रहेको बुझिन्छ। यो ठाउँमा महादेवले ताण्डव नृत्य सिकाएको पनि भनिन्छ ।
त्यही जटा अर्थात कपाल झरेर पतन भएको कारण उक्त स्थानलाई लटारम्भेश्वर महादेव भनेर चिनिएको हो भन्ने कथा सुन्न पाइन्छ। हामीले यसपटक यहि ठाउँको दर्शन गर्ने योजना र उत्साहका साथ आफ्नो टोलबाट गाडी रिजर्भ नै गरी दर्शन र घुमफिर समेत गर्ने तीव्र इच्छा सहित बिहानै काठमाडौ महाङ्कालबाट बाटो लागियो ।
दुई वटा बसमा हामी तिर्थालु बनेर यात्रा सुरु गरेपछि बाटोमा रमाइलो गर्दै गयौं । तर, हाम्रो रमाइलोलाई थप रमाइलो बनाउन स्वयं महादेव भगवानलाई पनि मन लागेछ क्यारे हामी जब उकालो लाग्यौं बाटोमा असिना र पानीको वर्षात सुरु भयो ।
उकालो बाटो, घनघोर पानी, आकाशमा गड्याङ गुडुङ अनि चिप्लिएर आफ्नै शरीर थाम्न नसक्ने हुँदा पनि भगवानको शरणमा पुगि छाड्ने अठोट र तीव्र चाहनाले हामीलाई गन्तव्य सम्म पुर्याइ छाड्यो ।
गएका हामी सबैले आ-आफ्ना अनुभुति संगालेर बेलुकी अबेर पुनः काठमाडौ आइपुग्न सफल भयौं । हामी मध्य कसैले पनि यो यात्रालाई निर्थक र पट्यारिलो ठानेनौँ । यो रमाइलो स्थानको वर्णन मैले जति गरे पनि अधुरो र फिका हुनसक्छ । बरु तपाईं सबैले यो ठाउँमा एकपटक अवस्य पुगेर स्वर्ग यही रहेछ भन्ने कुरा थाहा पाउनुपर्छ कि ?
तस्बिरमा हेरौं:
तस्वीर सौजन्य: पुस्कर नेपाल
Comments

