बीमा रकमका लागि आफ्नै श्रीमानको हत्या, पाँच महिनापछि खुल्यो रहस्य
काठमाडौं, १६ चैत । सप्तरीमा एक महिलाले बीमा रकमका लागि आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ । बीमाबाट आएको पैसाले ऋणा चुक्ता गर्नका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको हो ।
सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दास र अन्य दुईजना पक्राउ गरेका छन् ।
गएको कात्तिक ६ गते घरभित्रै करेन्ट लागेर श्रीमानको मृत्यु भएको भन्दै श्रीमती कोशिलाले प्रहरीलाई खबर गरेकी थिइन् । घटनास्थलमा पुगेको प्रहरीले त्यसबेला करेन्ट लागेर नै शिवशंकरको मृत्यु भएको निष्कर्ष निकालेको थियो । यद्यपि अनुसन्धान गर्दै जाँदा पाँच महिनापछि अहिले शिवशंकरको हत्या भएको रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
प्रहरीका अनुसार शिवशंकर र कोशिलाले भाउजू पर्ने शान्ति देवीसँग केही पैसा ऋण लिएका थिए र शान्ति देवीले ऋण चुक्ता गर्न दबाब दिँदै आएकामा उनले नै कोशिलालाई श्रीमानको हत्या गरेर बीमाको रकम आउने भन्दै उक्साएकी थिइन् ।
दुई महिनाअघि शिवशंकरको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समा २०/२० लाखको बिमा गराएर कात्तिक ५ गते शान्ति देवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर पठाएकी थिइन् ।
मदिराको नशामा मातेर घर पुगेका शिवशंकरलाई कोठामा सुतिरहेका बेला कोशिलाले बायाँ हातमा तार बेरेर करेन्ट लगाएर हत्या गरेको खुलेको हो ।
इलाका प्रहरी कार्यायल कञ्चनरुपले हत्यामा संलग्न रहेको आरोपमा मृतक शिवशंकरकी पत्नी कोशिला, नातामा भाउजू पर्ने शान्ति देवी, हत्यामा सघाएको भन्दै बुहारी पर्ने हिरणदेवी दासलाई पक्राउ गरेको छ ।