यो सरकार पाँच वर्षसम्मै जान्छ: प्रचण्ड

काठमाडौं, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्मै टिक्ने बताएका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचन सम्पन्न भएदेखि अहिलेसम्म सरकार परिवर्तन नभएको र आगामी पाँच वर्षसम्म पनि यही सरकारले निरन्तरता पाउने विश्वास रहेको बताएका हुन् ।
सम्मेलनमा काठमाडौं महानगरप्रमुख बालेन साहले सरकारको निश्चितता र स्थिरताबारे शंका रहेको बताएपछि त्यसको जवाफमा प्रचण्डले यो सरकार स्थिर हुने र पाँच वर्षसम्मै जाने बताएका हुन् ।
प्रचण्डले भने- स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन गर्यौं । त्यसपछि सरकार निरन्तर एउटै छ, मेरै नेतृत्वमा सरकार छ । मलाई विश्वास छ, यो सरकार पाँचै वर्षसम्म जान्छ ।

