उपेन्द्र यादवलाई बारा-२ बाट उपनिर्वाचन जित्‍न कठिन

काठमाडौं, ११ चैत । जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई बारा २ को उपनिर्वाचन जितेर प्रतिनिधिसभा प्रवेश गर्न नदिन अन्य मधेसवादी दल एकमत भएका छन् ।

यसअघि मंसिर ४ मा सप्तरीबाट पराजित भएका यादवले बर्तमान सत्ता साझेदार सबै दलको समर्थनमा बारा २ को उपनिर्वाचनमा ‘साझा उम्मेदवार’ बन्ने प्रयास गरिरहेका छन्  । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छाडेको यो निर्वाचन क्षेत्रमा चुनाव जितेर संसद  छिर्ने योजना उपेन्द्रको छ । तर, अन्यले सहयोग नगरे एक्लै जित्न कठिन छ।

उपेन्द्र यादव २०४८ सालमा एमाले पार्टीबाट सुनसरी ४ बाट चुनाव उठेर पराजित भएका व्यक्ति हुन् । त्यसपछि एमाले, माओवादी, मधेसी जनअधिकार फोरम हुँदै हाल जसपा अध्यक्ष रहेका यादवले ०६४ को संविधान सभा निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जितेका थिए ।

०७० को संविधान सभा निर्वाचनमा मोरङबाट पराजित भएका यादव ०७४ मा सप्तरीबाट चुनाव लडेर जितेका थिए । उनले सप्तरीमा पनि जनमत बटुल्न नसक्दा ०७९ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसंग नराम्रो नतिजा सहित लज्जास्पद रुपमा पराजित भए । अब उनी सप्तरी हुँदै बारा आइपुगेका छन् ।

सप्तरीमा सिके राउतले  ३५ हजार ४२ मत ल्याएर विजयी हुँदा यादवले जम्मा १६ हजार ९७९ मतमात्रै पाए। उनको यो लज्जास्पद हार हुनुमा पार्टीभित्रको असन्तुष्ट समुह समेत जिम्मेवार छ। जसपाले सप्तरीमा उपेन्द्र पराजित हुनुमा ३८ जना नेताकार्यकर्ता जिम्मेवार रहेको समेत ठहर गरेको छ।

चुनाव हारेपछी विक्षिप्त बनेका यादवलाई बारा २ आइलागेपनी यहाँ उनले लोसपा नेता राजेन्द्र महतो वा सिके राउतका उम्मेदवारको टक्कर सहनुपर्ने देखिन्छ। यी दुबै दल उपेन्द्रलाई चुनाव जित्न नदिने योजनामा छन् ।

सर्लाही २ बाट महेन्द्र राय यादवसंग चुनाव हारेका लोसपा नेता राजेन्द्र महतो पनि अहिले संसद छिर्ने तयारीमा छन् । उनलाई लोसपाले बारा २ बाटै उपनिर्वाचनमा उम्मेदवार बनाउने चर्चा छ। अहिलेको सत्ता गठबन्धनका ११ दलमध्ये रवि लामिछाने नेतृत्वको रास्वपा एक्लै चुनाव लड्ने तयारीमा छ ।

त्यसैगरी उपेन्द्रसँग कुनैपनि दलले गठबन्धन गर्ने भनेका छैनन् तर, महतोलाई सघाउन जनमत पार्टी  र नागरिक उन्मुक्ति पार्टी सहित आम जनता पार्टी समेत तयार देखिन्छ ।

त्यसो त यहाँ दलको जस्तै बाहुल्य मत स्वतन्त्र उम्मेदवारको पनि छ । गत मंसिरको चुनावी नतिजा हेर्ने हो भने हाल उपराष्टपति निर्वाचित तत्कालिन जसपाका रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर विजयी हुँदा माओवादीका शिव कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए ।

यसैगरी स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत र अर्का स्वतन्त्र उम्मेदवार रविन्द्र यादवले १० हजार ७५० मत ल्याएका थिए । त्यहीँबाट अर्का एक स्वतन्त्र सहित अन्य दलले समेत राम्रै मत पाएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय