भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला अस्ट्रेलियाले जित्यो

काठमाडौं, ९ चैत । भारतसँगकाे एकदिवसीय क्रिकेट श्रृंखला पाहुना टोली अस्ट्रेलियाले जितेकाे छ । बुधबार भएको तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियाले भारतलाई २१ रनले हराउँदै श्रृंखला जितेको हो ।
अस्ट्रेलियाले दिएको २७० रनको विजयी लक्ष्य पछ्याएको भारत ४९ १ ओभरमा २४८ रनमा समेटियो । विराट कोहलीले ५४ तथा हार्दिक पान्ड्याले ४० र शुभमन गिलले ३७ रन बनाएका थिए । अस्ट्रेलियाका एडम जाम्पाले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए भने एस्टन एगरले २ तथा मार्कस स्टोइनिस र शन एबटले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २६९ रन बनाएको थियो । मिचेल मार्शले ४७ तथा एलेक्स केरीले ३८ र ट्राभिस हेडले ३३ रन बनाए । भारतका हार्दिक पान्ड्या र कूलदीप यादवले ३-३ तथा मोहम्मद सिराज र अक्षर पटेलले २-२ विकेट लिए ।
तीन खेलको एकदिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा भारत विजयी हुँदा दोस्रो र तेस्रो खेलमा अस्ट्रेलिया विजयी भयो ।
अस्ट्रेलियाका मिचेल मार्श प्लेयर अफ द सिरिज चुनिए ।

