पारस सम्मिलित टोलीलाई ‘लेजेन्ड्स लिग क्रिकेट’को उपाधि

काठमाडौं, ७ चैत । नेपाली क्रिकेट टोलीका पुर्वकप्तान पारस खड्का सम्मिलित टोली एसिया लायन्सले लेजेन्ड्स लिग क्रिकेट २०२३ को उपाधि जितेको छ । सोमबार राति भएको फाइनलमा एसियाले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।

जितको लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । एसियाको जितमा ओपनर तिलकरत्ने दिलशानले ४२ बलमा सर्वाधिक ५८ रनको योगदान दिए भने उपुल थरंगा २८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रनमा आउट भए । जायन्ट्सका लागि ब्रेट ली, समित पटेल र मोन्टी पानेसारले एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनएको थियो । उसका लागि दक्षिण अफ्रिकी स्टार अलराउन्डर ज्याक कालिसले ७६ रन बनाएका थिए ।

न्युजिल्यान्डका रस टेलरले ३२ रन बनाए । एसियाका अब्दुर रजाकले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए भने थिसारा पेरेराले एक विकेट लिए ।

पारस खड्काले भने ब्याटिङ र बलिङ दुवैमा अवसर पाएनन् । पारसले प्रतियोगिताका ६ खेलमध्ये ५ खेलमा प्लेइङ ११ मा समावेश हुँदा दुई खेलमा मात्रै ब्याटिङ गरेका थिए ।

पहिलो खेलमा इन्डिया महाराजासविरुद्ध २ बलमा ३ रन र जायन्ट्सविरुद्ध दोस्रो खेलमा १० बलमा ८ रन जोडेका पारस इन्डियाविरुद्धको दोस्रो खेलमा भने टोलीमै परेनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय