भारतमाथि अस्ट्रेलियाको शानदार जीत

काठमाडौं, ५ चैत । भारत भ्रमणमा रहेको अस्ट्रेलियन क्रिकेट टोलीले एकदिवसीय श्रृंखलाअन्तर्गत दोस्रो खेलमा भारतमाथि शानदार जीत निकालेको छ । आइतबार भएको खेलमा अस्ट्रेलिया १० विकेटले विजयी भएको हो ।
भारतले दिएको ११८ रनो सामान्य लक्ष्य अस्ट्रेलियाले केवल ११ ओभरमा बिना कुनै विकेट क्षति भेट्टाएको हो । अस्ट्रेलियाका लागि मिचेल मार्शले ६६ तथा ट्राभिस हेडले ५१ रनको अविजित अर्धशतकीय पारी खेलेका थिए ।
त्यसअघि विशखापटनममा टस हारेर पहिले ब्याटिङ गरेको भारत २६ ओभरमा ११७ रनमै अलआउट भएको थियो । भारतका विराट कोहलीले ३१ तथा अक्षर पटेलले अविजित २९ रन बनाए ।
भारतको इनिङ ध्वस्त पार्न अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ८ ओभरमा ५३ रन खर्चेर ५ विकेट लिए भने शन एबटले ३ तथा नेथन एलिसले २ विकेट लिएका थिए ।
योसँगै तीन खेलको एकदिवसीय श्रृंखला १-१ को बराबरीमा आएको छ ।

