मन्त्रीपरिषद विस्तारमा प्रधानमन्त्री प्रचण्डलाई सकस

काठमाडौं, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति चुनाव सम्पन्न भएलगत्तै शुक्रबार प्रतिक्रिया दिँदै चैत १० भित्र मन्त्रीपरिषद विस्तार गर्ने बताएका छन् । चैत ६ गते सोमबार विश्वासको मत लिने र चैत १० भित्रै सरकारको मन्त्रीपरिषद विस्तार हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि प्रधानमन्त्री सकसमा छन् । उनले विश्वासको मत पनि लिनुपर्ने हुन्छ। त्यसमाथि आफैंले १६ मन्त्रालयको जिम्मेवारी लिएर बसेका प्रधानमन्त्री प्रचण्डले चैत ३ गते उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मन्त्रीपरिषद बिस्तार गर्ने भनेपनी मन्त्रालय भागबन्डामा गठबन्धनभित्र कुरा मिल्न बाँकी छ।

प्रधानमन्त्री नियुक्त हुने समयमा एमाले समेतको गठबन्धन राष्ट्रपति निर्वाचन सम्म आइपुग्दा भत्किएर नयाँ १० दलिय गठबन्धन बनेको हो । यहि गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपति दुवै  जितेको छ ।

नयाँ गठबन्धनमा नेपाली काङ्ग्रेस र माओवादी सहित नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, आम नेपाली पार्टी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समेत १० दल छन् । त्यसैमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत राष्ट्रपति चुनावपछि यहि गठबन्धनसँग नजिक छ।

यसअघिको गठबन्धनमा भएर पनि सरकार छाडेको रास्वपा पनि यो सरकारमा सहभागी हुने स्रोतको भनाइ छ । रास्वपाले हाल २ मन्त्रालय लिएर सरकारमा सहभागी हुनेगरी राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिएको स्रोतको भनाइ छ ।

यसैगरी गठबन्धनमा १० दल भएकोले अबको मन्त्रालय बाडफाडमा सबैलाई भाग पुर्याउन पर्ने भएपछि सत्ताको नेतृत्व गरिरहेको माओवादीको हिस्सा घट्ने छ। माओवादीबाट हालका मन्त्री नै यथावत रहने र त्यसमा नेसपा अध्यक्ष महेन्द्र राय यादव थपिने संभावना छ।

यता गठबन्धनको ठूलो दल नेपाली काङ्ग्रेसले पनि एमालेले यसअघि पाएको मन्त्रालय सबै दाबी गरेको स्रोतको भनाइ छ । तर, सरकार विस्तारमा काङ्ग्रेसले ७ मन्त्रालय पाउने मोटामोटी सहमति छ । त्यसमा थप एक राज्यमन्त्री पनि हुनेछ।

काङ्ग्रेसले गृह, अर्थ, सञ्चार, परराष्ट्र, भौतिक पुर्वाधार र ऊर्जा मध्ये मुख्य २ सहित ८ मन्त्रालय मागेको छ । तर, गृह र सञ्चार माओवादीले आफैं राख्ने देखिन्छ। काङ्ग्रेसलाई रक्षा, अर्थ र स्वास्थ दिन भने प्रधानमन्त्री प्रचण्ड राजी भएको एक नेताले बताए ।

परराष्ट्र,ऊर्जा र सन्चार मध्य एकमा नेकपा एकीकृत समाजवादी, जसपा,लोसपा र जनमत पार्टीको पनि दाबी छ । उनीहरुले २/२ मन्त्रालय पाउनेछन् ।

यता नेसपा र आनेपाले पनि एक/एक मन्त्रालयमा दाबी गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय