काँग्रेस र एमाले दुवैको प्रतिपक्षमा दाबी, संसद बैठक स्थगित

काठमाडौं १७ फागुन । संसदमा नेपाली काँग्रेस र नेकपा एमाले दुवैले आफू प्रमुख विपक्षी दल हुनुपर्ने अडान राखेका छन् । यसै विषयका कारण आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले आफूहरू स्वाभाविक प्रमुख प्रतिपक्षी रहेको एमालेको तर्क छ भने सरकारसम्म नजाँदासम्म विपक्षी दलकै रुपमा बस्ने काँग्रेसको अडान छ ।
गत पुस २६ गते काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो यद्यपि संसद सचिवालयले काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको थियो ।
प्रचण्डले एमालेसँगको गठबन्धन छाडेर काँग्रेससँग सहकार्य गरेपछि एमालेले सरकार छाड्नुका साथै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
संसदको अर्को बैठक चैत ५ गते आइतबार बस्ने संसद सचिवालयले सूचना जारी गर्दै जनाएको छ ।


