चितवन २ को उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौं, १७ फागुन । चितवन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० हुने उपनिर्वाचनका लागि १८ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनका लागि आयोगले यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ताको समय तोकेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक हप्ताको समयसीमामा १८ दल दर्ता भएको जानकारी दिए ।

आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दल दर्ता गरेका छन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी), मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति, नेकपा माओवादी समाजवादी, पुनर्जागरण पार्टी, मौलिक जरोकिलो, राष्ट्रिय मुक्ति आन्दोलन र जय जनमुक्ति पार्टीले पनि दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

गएको मंसिर ४ गते भएको निर्वाचनमा यस क्षेत्रबाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए तर नागरिकता विवादका कारण उनको सांसदसहित मन्त्री पदसमेत गएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय