पुरानो गठबन्धन भत्किनुमा प्रचण्डको दोष छैन, कमजोरी काँग्रेसकै हो: महामन्त्री थापा

काठमाडौं, १६ फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले पुस १० मा गठबन्धन भत्किनु र नेपाली राजनीतिमा दुर्घटना हुनुमा काङ्ग्रेसबाहेक कसैको दोष नभएको बताएका छन् ।
चुनाव अगाडिको पाँच दलिय गठबन्धन बिचको सहमति र जनताको मतको कदर नगरी आ-आफ्नो स्वार्थ हेर्दा एमालेले फाइदा लिन खोजेको उनको भनाइ थियो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-४ को प्रतिनिधि सभा सदस्य रहेका महामन्त्री थापाले आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै चुनावमा जादैमा यहि गठबन्धनले सरकार पनि चलाउने र विकास पनि गर्ने भनेर मत मागेको बताए ।
ठूलो पार्टी हुनुको नाताले पुस १० मा जे भयो त्यसको सबै जिम्मेवारी काङ्ग्रेसले नै लिनुपर्छ भन्दै अबको गठबन्धनले सबैको हितमा रहेको बताए । उनले नयाँ गठवन्धन बन्नु स्वागतयोग्य भएको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगाएत सबै दललाई आभार ब्यक्त गरे ।
उनले माओवादी अध्यक्ष प्रचण्डलाई धेरैले पदको लागि जता पनि मिल्ने भनेर आरोप लगाउने गरेकोमा त्यसो नभएको पनि बताए । ‘पुरानो गठबन्धन भत्किनुमा माओवादी अध्यक्ष प्रचण्डको कुनै दोष छैन’ उनले भने ‘सत्यलाइ सत्य भनेर बोल्नुपर्छ, यसमा उहाँको कुनै गल्ती देख्दिन ।’
उनले आजै आफ्नो सांसद गगन थापा सम्पर्क कार्यालय भनेर चाबहिल भत्केपुलमा उद्घाटन समेत गरे । सो कार्यक्रममा महामन्त्री थापा सहित काङ्ग्रेसबाट निर्वाचित र समानुपातिक सांसदहरु, माओवादी केन्द्र, समाजवादीका नेता कार्यकर्ता समेत उपस्थित थिए ।




