काँग्रेससहितको पुरानै गठबन्धन ब्युँताउने तयारी

काठमाडौं, ११ फागुन । आउँदो फागुन २५ मा हुने राष्ट्रपति चुनावलाई लिएर नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादी समेतको पुरानै गठबन्धन ब्युँतिने भएको छ । वर्तमान गठबन्धनभित्रका नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको संघारमा पुगेपछि पुरानो गठबन्धन सक्रिय बन्न लागेको हो ।

आज दिनभरीमा राजनीतिक परिस्थितिमा कुनै आश्चर्य नभएमा काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्यूँताउन भइरहेको प्रयासले भोलिसम्म सार्थकता पाउने छ। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये पहिला को प्रधानमन्त्री बन्ने भन्ने विवादले १० पुसमा पाँचदलीय गठबन्धन टुटेको थियो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएपछि नयाँ गठबन्धन बन्यो, जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए ।

तर, दुई महिनामै यो गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएको नेताहरुको बुझाइ छ । काँग्रेस नेताहरूका अनुसार राष्ट्रपति आफ्नो दललाई दिने पूर्व समझदारीमा प्रधानमन्त्री प्रचण्ड कायमै देखिएकोमा काङ्ग्रेस ढुक्क छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्ड बिच झण्डै दुई घण्टा लामो छलफल भएको थियो । भेटमा एमाले अध्यक्ष ओलीले आपसी विश्वास कायम राख्न पनि १० पुसमा भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । त्यो दिन प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्न जानुअघि एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो भन्ने एमाले नेताहरूको दावी छ ।

भेटको अन्तिममा ओलीले काँग्रेससँगै जाने निर्णय भए ठीकै छ समेत भनेर बालुवाटारबाट निस्केको स्रोतको भनाइ छ । यदि एमालेसँग सत्ता गठबन्धन टुट्ने अवस्था आए प्रचण्डलाई देउवा र माधवकुमार नेपालको साथ रहने छ ।

यसो भएमा नेपाली काङ्ग्रेसले राष्ट्रपति नेपाली काङ्ग्रेसले पाउने देखिन्छ। काङ्ग्रेसले पाउँदा रामचन्द्र पौडेल र कृष्ण सिटौलामध्ये एक उम्मेदवार हुने पक्का छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय