रोहित र करणको उत्कृष्ट साझेदारीमा नेपालले स्कटल्यान्डलाई हरायो

काठमाडौं, ९ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलामा नेपालले लगातार चौथो जीत निकालेको छ । मङ्गलबार भएको रोमाञ्चक अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो ।
स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहँदै ९५ रनको योगदान दिए । त्यसैगरी करण केसीले अविजित रहेर ३१ रन बनाउँदै रोहितको साथ थिए ।
नेपाल १३८-८ को कठिन अवस्थामा रहेका बेला करण र रोहित मिलेर नेपालको इनिङ उकासेका थिए । स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिँदा क्रिस ग्रिभ्सले २ तथा माइकल लिस्क. सफिया सरिफ र ब्रान्डन माकमुलन ले १-१ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा अलआउट हुँदै २१२ रन बनायो । उसका लागि जर्ज मुन्सेले विस्फोटक सुरुवात गर्दै ५० बलमा ६० रन बनाएपनि सुरुवातअनुसारको प्रदर्शन जारी राख्न नसक्दा स्कटल्यान्डले त्यसपछि उल्लेख्य लय लिन सकेन । म्याथिउ क्रसले ४२ तथा ब्रान्डन माकमुलनले ३१ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए भने करण केसीले ८.१ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लको नाममा १-१ विकेट रह्यो ।
नेपालले यस श्रृंखलाका चारमध्ये चारवटै खेलमा जित निकाल्न सफल भयो । यसपछि अब नेपाल अर्को साता युएईमा अर्को श्रृंखला खेल्न प्रस्थान गर्ने छ ।

