प्रचण्डले ‘ओके’ भनेपछि पुरानो गठबन्धन ब्युँतने

१२ बुँदे पक्षधर एकै ठाउँमा- प्रचण्ड

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले ‘ओके’ भन्ने बित्तिकै एमालेबाहेकको दलहरुले पुरानै गठबन्धन ब्युँताउने भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले समेत अब एमालेसँगको सहकार्य तोडेर काँग्रेससँग गठबन्धन गर्ने मनस्थिति बनाएको बुझिएको छ । उनले नयाँ राष्ट्रपतिमा नेपाली काँग्रेसकै उम्मेद्वारलाई सघाउने संकेत समेत गरेका छन् ।

उनले हिजो काँग्रेस सभापति शेरबहादुर देउवा समेतलाई भेटेर राष्ट्रपतिमा सघाउने बचन दिएको कुरा बाहिर आएसँगै आज पोखरा पुगेर एमाले बाहेकको शक्ति एक ठाउँमा उभिने बताए ।

बाह्र बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने प्रचण्डको भनाई थियो । पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको समेत बताए ।

‘राजनीतिमा दूषित हावा देखिएको छ,१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ’ प्रचण्डले भने-‘राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’

ठुला पार्टी एक ठाउँ उभिन सकेमा धेरै बिषयमा समझदारीका साथ अघि बढ्न सकिन्छ भन्दै उनले राष्ट्रपतिमा यही मान्छे भन्ने नहुने तर जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढ्ने बताए । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने बचन दिएको र एमाले त्यो सुनेर आश्चर्यमा परेको प्रतिक्रिया बाहिर आएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय