ओलीलाई प्रचण्डको प्रस्ताव- राष्ट्रपति तपाई नै बन्‍नुस् !

काठमाडौं, ७ फागुन । नेपालको नयाँ राष्ट्रपतिको लागि फागुन २५ मा निर्वाचन हुँदै छ । राष्ट्रपति निर्वाचनका लागि सत्ता साझेदार दलहरुबीच साझा उम्मेदवार तय हुन सकेको छैन । यद्यपि राष्ट्रपतिमा नेपाली काङ्ग्रेसको समेत दाबी छ । नेपाली काङ्ग्रेसले राष्ट्रपति लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई फकाइरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पुस १० को सहमतिभन्दा बाहिर गएर राष्ट्रपति उम्मेदवार खोज्ने प्रयास गरेपछि काङ्ग्रेस उत्साही छ । गएको पुस १० मा प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुँदा राष्ट्रपति र सभामुख एमालेले लिने भद्र सहमति भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ ।

यहि भद्र सहमति नतोड्न प्रचण्डलाई आग्रह गरिरहेको एमालेले राष्ट्रपतिमा ईश्वर पोखरेललाई उठाउने तयारी गरिरहेको बेला एकाएक माओवादीले केपी ओलीलाई नै राष्ट्रपति बन्न संकेत गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिचको पछिल्लो भेटमा राष्ट्रपति एमालेले लिने हो भने ‘तपाईं आफै बन्नुस’ भनेर प्रचण्डले प्रस्ताव गरेको स्रोतको भनाइ छ । राष्ट्रपतिमा एमालेले दाबी नछाड्दा सत्ता गठबन्धनमा संकट देखिन थालेको समेत बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्ड एमालेलाई कुनैपनि अवस्थामा राष्ट्रपति नदिने मुडमा छन् । उनले एमालेबाहेकको दल वा त्यसो नभए सबैले स्वीकार गर्ने गैर राजनीतिक साझा व्यक्तिलाई राष्ट्रपति बनाउने भन्दै आएका छन् ।

सरकार बनेको करिब ५८ दिनमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच २३ पटक भेटघाट भैसकेको छ । पछिल्लोपटक भएको भेटमा चाहिँ प्रधानमन्त्री प्रचण्डले ओलीलाइ आफै राष्ट्रपति बन्नुस भनेर प्रस्ताव गरेको तर एमाले अध्यक्ष ओलीले आफू नहुने तर एमालेले उठाएको व्यक्ति हुनुपर्छ भन्ने अडान लिएको स्रोतको भनाइ छ ।

यता नेपाली काङ्ग्रेसले पनि राष्ट्रपतिमा सघाउन सबै दललाई आग्रह गरेको छ । नेपाली काङ्ग्रेसबाट राष्ट्रपति बन्ने दौडमा सबैभन्दा अगाडी कृष्ण सिटौला छन् । पार्टी बरिस्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने काङ्ग्रेसको पुर्व तयारीमा एकाएक सिटौलाको प्रवेशलाई छिमेकी राष्ट्रको चाहानाको रुपमा समेत लिइएको छ ।

नेपाली काङ्ग्रेसले पाउँदा सिटौला र पौडेलबाहेक गोपालमान श्रेष्ठको समेत दाबी छ । यसैगरी माओवादी आफैले राष्ट्रपति पाउने अवस्थामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई अघि सार्ने देखिन्छ भने एमालेबाट ईश्वर पोखरेल, डोरमणी पौडेल, सुबास नेम्वाङ, अष्टलक्ष्मी शाक्य र गोमा देवकोटाको नाम चर्चामा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय