सत्ता गठबन्धन भत्काउन काङ्ग्रेसले बालुवाटारमा खटायो टोली

काठमाडौं, ६ फागुन । आउँदो फागुन २५ को राष्ट्रपति निर्वाचन अगाडि नै वर्तमान सत्ता गठबन्धन भत्काएर पुरानै गठबन्धन ब्युँताउन काङ्ग्रेस सक्रिय देखिएको छ ।
यहि कामका लागि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा निकट केही नेताहरु दैनिकजसो बालुवाटार पुगेर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किने गरेका छन ।
उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाकै योजनाअनुसार सत्ता गठबन्धन भत्काएर फेरि पुरानै गठबन्धन ब्युँत्याउन लागेको स्रोतको भनाइ छ । माओवादीसँग नयाँ खालको सहमति र सहकार्य गर्ने भन्दै काङ्ग्रेस सहित नेकपा एकीकृत समाजवादी समेत यो अभियानमा लागेको स्रोतको भनाइ छ ।
एमालेसँगको सत्ता गठबन्धनबाट माओवादीलाई बाहिर निकाल्ने र राष्ट्रपति आफुले लिएर पाँच बर्ष नै प्रचण्डलाई प्रधानमन्त्रीमा सघाउने काङ्ग्रेसको योजना छ । त्यसकै लागि प्रचण्डलाई विश्वासमा लिन पार्टी उपसभापति पुर्णबहादुर खड्का लगायत नेता बालुवाटार पुग्ने गरेका छन् । यदि एमाले सत्ता बाहिर गए खड्का गृहमन्त्री सहित काङ्ग्रेस सरकारमा समेत जाने बुझिएको छ ।
पुरानो पाँच दलिय गठबन्धन बाहेक नयाँ बन्ने गठबन्धनमा राप्रपा, जसपा, लोसपा र जनमत पार्टी साथमा हुनेछन । सकेसम्म रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि नयाँ गठबन्धनमा ल्याउने तयारी रहेको स्रोतले बतायो ।
पुरानो गठबन्धनलाई सक्रिय बनाउन काङ्ग्रेस सभापति देउवा र समाजवादी अध्यक्ष नेपालले प्रचण्डलाई टेलिफोन सम्पर्क गर्ने र दोस्रो तहका नेता बालुवाटार पठाउने गरेको बुझिएको छ ।
यता सत्ता गठबन्धन भित्र पनि राष्ट्रपति उम्मेदवारमा सहमति बन्न नसक्दा पुरानो गठबन्धन ब्युँतिने कुरा सत्य हुनसक्ने नेताहरूको भनाइ छ ।
‘सकेसम्म गठबन्धन नटुटोस भन्ने हो,तर स्थिति जे पनि हुनसक्छ’ माओवादीका एक नेता भन्छन्-‘एमालेले केही कुरामा अडान छाडेन भने र प्रधानमन्त्रीलाई दबाबमा राख्न खोज्यो भने परिस्थिति बेग्लै बन्न सक्छ,राष्ट्रपति एमालेले पाउदैन यो सत्य हो।’

