जनयुद्ध परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस: प्रचण्ड

काठमाडौं, १ फागुन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’ दिवसलाइ सबै नेपालीको साझा दिवस मान्नुपर्ने बताएका छन् ।
२०५२ फागुन १ गतेबाट तात्कालिन नेकपा माओवादीले देशमा सशस्त्र युद्ध सुरू गरेको थियो । यसअघि जनयुद्ध दिवस भनेर बिदा दिने चल्न थिएन । सरकारले २८औं जनयुद्ध दिवसदेखि बिदा दिने निर्णय गरेको छ ।
जनयुद्धको वार्षिकोत्सवकै सन्दर्भमा प्रचण्डले सोमबार बिहान विज्ञप्ति जारी गरी विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना दिएका छन् । प्रचण्डले जनयुद्धलाई ऐतिहासिक दिन भन्दै देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति भएको आन्दोलन भनेका छन् ।
नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी थियो भन्दै प्रचण्डले भनेका छन् -‘साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको थियो ।’
उनले जनयुद्धकै कारण वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल भएको समेत बताएका छन् । जनयुद्धकै कारण देशका उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको प्रचण्डको भनाइ छ ।
जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनको बिज्ञप्तिमा उल्लेख छ ।
युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित भएको भन्दै प्रचण्डले जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् ।
उनले सहमति, सहकार्य र एकताका आधारमा राष्ट्रिय चुनौतीहरूलाई अवसरमा बदल्न सम्पूर्ण नेपालीमा सकारात्मक उर्जा र प्रेरणा पैदा होस् भन्ने कामना समेत गरेका छन् ।


