रवि लामिछानेका कारण ओली-प्रचण्ड सम्बन्धमा खटपट

काठमाडौं, १८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला गैरसांसदको रुपमा भएपनि गृहमन्त्री बन्ने दौडमा छन् । नागरिकताको विषयमा सर्बोच्च अदालतको फैसला पछि उनी सांसद छैनन् । चितवन-२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका उनको ठाउँमा पुनः उपनिर्वाचन हुनेछ ।
सांसद नभए पनि आफ्नो पार्टीको भागमा परेको गृह मन्त्रालयमा रवि आफैं जान चाहन्छन् । यसैको लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पालैपालो भेट्दै छन् ।
प्रधानमन्त्री दाहालले रवीलाई गृहमन्त्री दिन नसकिने स्पष्ट गरिसकेका छन् भने एमाले अध्यक्ष ओली रविलाई पुनः गृह दिन सकारात्मक छन् । यही कारण पछिल्लो समय प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीको सम्बन्धमा समेत खटपट शुरु भएको स्रोतको भनाइ छ ।
ओलीले प्रचण्डलाई राष्ट्रपति एमालेले लिने कुरा र रवीलाई गृहमन्त्री दिने कुरामा बाधक नबन्न भनेका छन् । तर, प्रचण्ड यी दुवै कुरामा सहमत छैनन् । जसले गर्दा राष्ट्रपतिको निर्वाचन सम्म गृह मन्त्रालय आफैं राख्ने र राष्ट्रपति पनि एमाले बाहेकबाट खोज्ने प्रचण्डको रणनीति छ ।
यता लामिछानेले प्रचण्डलाई गरेको आग्रहमा सुनुवाइ नभएपछि बालकोटस्थित ओली निवास पुगेर गुनासो गरेका छन् । सत्ता गठबन्धनमा भएको सहमतिबारे ओली निवासमा छलफल गर्न पुगेका लामिछानेले गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेको बुझिएको छ ।
यता प्रचण्डले भने नागरिकता विवादमा सर्वोच्चको फैसलापछि गृहमन्त्रालय दिँदा स्वार्थ बाझिने भन्दै अर्कै मन्त्रालय लिन आग्रह गरेका छन् । गृह नपाए सरकार छाड्ने रविको धम्की र ओलीसंगको निकटताबाट प्रधानमन्त्री प्रचण्ड भने अझै कठोर हुनसक्ने उनी निकट नेताले बताए ।

