रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीमा उजुरी

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई पक्राउ गर्न माग गर्दै उजुरी दिइएको छ । सिन्धुलीका युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध मंगलबार जाहेरी दिएका हुन् ।
लामिछानेको नागरिकतासम्बन्धी मुद्दा दर्तामा पनि युवराज संल्ग्न थिए । अदालतले रविको नागरिकता अवैध रहेको फैसला गरेपछि उनको सांसद र मन्त्री पद पनि खारेज भएको थियो । उनी चितवन-२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
सर्वोच्च अदालतले अवैध भनेको नागरिकताकै आधारमा उनले राहदानी बनाएको र जतिबेला उनीसँग दोहोरो पासपोर्ट रहेको भन्दै उनलाई तत्काल पक्राउ गरी छानविन गर्न भनिएको छ । लामिछानेले २०७० फागुन ९ गते अमेरिकाको नागरिकता लिएका थिए । अमेरिकी पासपोर्ट रहेको बेला नै लामिछानेले आफन्त भेट्ने गरी पारिवारिक भिसामा नेपाल आएको र पुरानै नागरिकता अनुसार राहदानी बनाएका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०५० फागुन १० गते जारी १८२२२ नम्बरको पूरानो नागरिकताकै आधारमा राहदानी विभागबाट नेपाली राहदानी लिएर दुरुपयोग गरेको आरोप लगाउदै कारबाही गर्न माग गरिएको छ ।
लामिछाने विरुद्ध उजुरी आएको बारे प्रहरीले केही बताउन चाहेको छैन । स्रोतका अनुसार उजुरी परेको तर छानबिन पछि तथ्य बाहिर आउने भनिएको छ ।
उजुरी दर्ता भएको भएपनि प्रहरीले मुद्दा दर्ता गर्न भने मानेको छैन ।

