प्रधानमन्त्री दाहाल रवि लामिछानेलाई गृहमन्त्री नदिने पक्षमा

काठमाडौं, १७ माघ । नागरिकता विवादका कारण सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री अनिच्छुक देखिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यो कुराको जानकारी लामिछानेलाई पनि गराइसकेको स्रोतको भनाइ छ । यता लामिछाने भने गैरसांसदको रुपमा भएपनि गृह मन्त्रालय लिने दौडधुप गरिरहेका छन् ।

उनले नेकपा एमाले अध्यक्ष केपि ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाललाई गृहमन्त्री दिन आग्रह गरिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई मात्रै होइन उनको पार्टीकै अरु कसैलाई पनि गृहमन्त्री नदिने बताइसकेको बुझिएको छ ।

‘अहिले तपाईँलाई होइन, तपाईँको पार्टीलाई पनि गृह मन्त्रालय दिन सकिने अवस्था छैन,’- प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-‘गृह मन्त्रालय अब प्रधानमन्त्रीसँगै राख्नुपर्छ भन्ने सुझाव धेरै तिरबाट आएको छ । तपाईँको नागरिकताको विषय अझै टुंगो लागिसकेको छैन । राहदानीको विषय पनि उठेको छ त्यसैले गृह छाडेर अरु मन्त्रालय लिदा राम्रो होला ।’

प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय नदिने बताएपछि लामिछाने सत्ता गठबन्धन टुट्न सक्ने भन्दै बाहिरिएको बुझिएको छ । उनले बेलुकी सम्म भनेजस्तो नभए सरकारबाट फिर्ता हुने बताएको स्रोतको भनाइ छ । यद्यपि सरकार छाड्ने वा नछाड्ने भन्ने बिषयमा रास्वपाले पार्टी निर्णय गरेको छैन ।

अदालतको फैसला पछि नेपाली नागरिकता पुनः प्राप्त गरेका लामिछानेको पार्टी बिधानमा गैर सांसदलाई मन्त्री नबनाउने उल्लेख छ तर,उनी आफै गैरसांसद हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय