ओली-प्रचण्ड खटपट, राष्ट्रपति एमालेले नपाउने !

काठमाडौं, १३ माघ । बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ पार्टीको बैठक सारेर भएपनि नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटारमा कुरेर बसे । ओलीकै कारण माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्ने समय तालिका ३ घन्टा ढिलो भयो ।

कुरा यति मात्रै होइन । पछिल्लो समय प्रचण्ड-ओली सम्बन्धमा खटपट देखिएको अनुमान लगाउन थालिएको छ । यसको पुष्टि बालुवाटारमा एमाले अध्यक्ष ओलीलाई भेटेर पार्टीको बैठकमा पुगेका प्रधानमन्त्री प्रचण्डले नै गरेका छन् । उनले बैठकमा ‘ओलीले सहमति पालना नगरेको’ गुनासो गरेका थिए । पार्टी स्थायी समिति बैठकमा आफ्नो तर्फबाट ‘ब्रिफिङ’ गर्दै प्रचण्डले ओलीसँग भएको सहमति र ओलीका व्यवहारबारे आफु सन्तुष्ट हुन नसकेको सुनाए ।

‘ओलीजी कस्तो भने आफू सहमति पालना गर्न नखोज्ने तर काम चाहिँ आफ्नै अनुकूलको गराउन चाहने’, ओलीबारे प्रचण्डले बैठकमा भनेको कुरा उदृत गर्दै सहभागी एक नेता भन्छन् । ओलीले गरेको संसद विघटनका विषयमा दुवै नेता नबोल्ने कुरा पहिल्यै सहमति भएको तर ओलीले बोल्दै हिँडेको, उपप्रधानमन्त्रीको वरियतामा दबाब दिएको र सरकारमा मन्त्री सिफारिस गर्दा सहमति विपरित गरेको भन्ने प्रचण्डको बुझाइ छ । नबोल्ने भन्ने बिषय झन ओलीले संसदमै उठाउँदा म आफु निर्वाचित प्रधानमन्त्रीको लागि अलि असहज भएको छ भन्दै प्रचण्डले बैठकमा ओलीले सहमति एउटा र व्यवहार अर्कै गर्दा समस्या भएको बताएका थिए ।

सरकारमा एमालेको तुलनामा माओवादीले राम्रो र रोजेको मन्त्रालय नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको कुरा पनि प्रचण्डले बैठकमा राखेका थिए । प्रधानमन्त्रीको सपथ हुँदा ओलीको पार्टी एमाले र माओवादीबीच जम्मा १/१ जना मन्त्री पठाउने भनिएको तर,ओलीले चारजना पठाएको समेत कुरा खोले ।

समग्रमा भन्दा आफू ‘ओलीको घेराबन्दीमा’ परेको जस्तो अनुभुती भएको समेत प्रचण्डको भनाइ रहेको एक नेताले सुनाए ।’पार्टीबाट एक/ एक जना मन्त्री मात्रै पठाउने कुरा भएको थियो तर एमालेले चारजना पठायो’ प्रचण्डले बैठकमा जोड दिएर भनेको कुरा सुनाउदै ती नेता भन्छन्-‘ विष्णु पौडेललाई दोस्रो नम्बरमा राख्न पनि ओलीजीले दबाब दिनुभयो ।’

बैठकमा प्रचण्डले सभामुख र राष्ट्रपति एउटै पार्टी(एमाले)को बनाउदा साढे दुई वर्षपछि एमाले हावी हुने भन्दै राष्ट्रपतिमा एमालेको भन्दा साझा ब्यक्ति ल्याउन पहल गर्नुपर्ने समेत सुनाए । अहिले सभामुख र राष्ट्रपति अनि भोलि प्रधानमन्त्री पनि उसैको भयो भने के गर्ने ? प्रचण्डको प्रश्न थियो ।

प्रचण्डले एमालेसंगको गठबन्धन जोगाउनुपर्ने पनि छ तर,काङ्ग्रेसले दिएको बिश्वासको मत पनि अपमान गर्न भएन भन्दै अगाडिको बाटो गम्भीरताका साथ अहिले नै सोच्न जरुरी रहेको ब्रीफिङ गरेको सहभागी अर्का नेताले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय