गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको फैसला आजै होला ?

काठमाडौं, ११ माघ । उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेको मुद्दामा आजै फैसला हुने वा नहुने टुंगो छैन । यद्यपि यो मुद्दामा संवैधानिक इजलासले पेशी सार्न नमिल्ने र अग्राधिकारसमेत दिएकाले आजै फैसला हुनसक्ने देखिन्छ ।

स्रोतका अनुसार गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको फैसला बहस आजै हुने पक्का छ । संवैधानिक इजलासले मुद्धाको सुनुवाई गर्ने छ ।

गएको मंसिर ४ को निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता भएकै समयमा नेपाली नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएको भन्दै सांसदका रुपमा सपथ ग्रहण रोक्न मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

त्यतिबेला अदालतले प्रारम्भिक सुनुवाईमा अन्तरिम आदेश दिन अस्वीकार गरिएपनि उक्त प्रयोजनका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । संवैधानिक इजलासले बहस सुनेपछि अन्तरिम आदेश दिन अस्विकार गरेको थियो ।

पुस २२ गते भएको उक्त सुनुवाईपछि कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसहित ५ जना वरिष्ठतम् न्यायाधीशको इजलासले दुवै पक्षबाट पेशी सार्न नमिल्ने र अग्राधिकारसहित माघ ११ गतेका लागि पूर्ण सुनुवाईको पेशी तोकिएको थियो । लामिछानेको नागरिकता सम्बन्धी विवादमा अहिले काठमाडौं प्रहरी परिसरले पनि अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने संचार क्षेत्रबाट राजनीतिमा फड्को मार्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा उपप्रधानमन्त्री सहित गृहमन्त्री रहेका छन्। प्रतिनिधिसभामा उनको पार्टीका २० सांसद रहेका छन् भने सरकारमा ३ मन्त्री र १ राज्यमन्त्री सहभागी छन् ।

लामिछानेको मुद्दामा कानुन ब्यबसायीहरु बिभाजित छन् । कसैले उनको नागरिकताको बिषय उठाउनै नपर्ने र नेपाली होइन भन्न नमिल्ने राय दिएका छन् भने कसैले अमेरिकी पासपोर्ट लिएर नेपाल आएको ब्यक्तीले पुरानै नागरिकता देखाएर नेपाली पासपोर्ट लिएकोमा दोषी देखिने तर्क गरेका छन् ।

अधिवक्ता रवीराज बसौला र नानिबाबु खत्रीले लामिछाने विरुद्ध मुद्दा दायर गरेका हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय