निर्वाचनमा २ करोड खर्च, नतिजा शून्य !

काठमाडौं, १० माघ । गएको मंसिर ४ गते भएको प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ समेत कटाउन नसकेर समानुपातिकमा ‘शुन्य’ सिट भएको नेकपा एकीकृत समाजवादीले निर्वाचनमा सबैभन्दा बढी खर्च गरेको देखिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलले गरेको खर्च विवरण बुझाउन दिएको समय भित्र प्राप्त विवरण हेर्दा समाजवादीको यस्तो अवस्था देखिएको हो । समाजवादीले १ करोड ९० लाख ८९ हजार ५०० रुपैयाँ खर्च गरेको देखिएको छ । निर्वाचन आयोगले खर्च विवरण बुझाउन माघ ३ गतेसम्मको समयसीमा तोकेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका ४७ वटै दलले खर्च विवरण बुझाएको जानकारी दिए । आयोगमा बुझाइएको विवरणअनुसार नेकपा एकीकृत समाजवादी पछि राप्रपाले बढीको खर्च गरेको देखिन्छ । राप्रपाले १ करोड ८९ लाख खर्च भएको विवरण आयोगमा बुझाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन-२०७३ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीमा एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ ।

त्यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ कम्तीमा एक सिट प्राप्त गर्न बन्दसूची पेस गरेका दलले ३ प्रतिशत मत पाएको हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ दुई लाख ९८ हजार ३९१ मत पायो ।

समानुपातिकतर्फको ‘थ्रेसहोल्ड’ पूरा गर्न सो दललाई करिब पाँच हजार मत अपुग भयो । सो दलले समानुपातिकतर्फको ११० सिटमध्ये १०४ सिटमा उम्मेदवारी दिएको थियो । यसरी हेर्दा एकीकृत समाजवादीले समानुपातिकतर्फ दुई करोड आठ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । एक उम्मेदवार बराबर २ लाख खर्च गर्न पाइने थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो सबैभन्दा बढी खर्च गरेको छ । सो दलले १०६ सिटमा उम्मेदवारी दिएकोमा एक करोड ८९ लाख खर्च भएको विवरण आयोगमा बुझाएको छ । नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ रुपियाँ खर्च भएको विवरण बुझाएको हो ।

नेकपा एमालेले एक करोड ३३ लाख २६ हजार ६९३ रुपियाँ ४५ पैसा खर्च गरेको छ । आयोगका अनुसार समानुपातिकतर्फ सिट जितेर सबैभन्दा कम खर्च गरेको दल जनमत पार्टी हो । सो दलले बुझाएको विवरणबमोजिम उसले समानुपातिकतर्फ तीन लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपियाँ र जनता समाजवादी पार्टी, नेपालले ३५ लाख रुपियाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ ।

हेर्नुस् दलहरूको खर्च विवरण:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय