शेखर-गगन समुहको नेता को ? सिनियर नेता गगनसँग भड्किए

काठमाडौं, १० माघ । नेपाली काँग्रेसभित्रको संस्थापनइतर समूह अर्थात डा.शेखर कोइराला समुहले पार्टी महामन्त्री गगनकुमार थापालाई नेता मानेर जान नसकिने बताएका छन् ।

पार्टीको भावी सभापति सहित समुहको नेता को हुने भन्ने विवाद चर्केको स्रोतको भनाइ छ । कोइराला र थापामध्ये भावी सभापति उम्मेदवार को हुने भन्ने विषय पेचिलो बन्दै गएपछि सो समुहभित्रका नेताकार्यकर्ता पनि विभाजित छन् । पार्टी संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेको र हालको महामन्त्री समेत भएकोले गगन नै भावी सभापति हुनसक्ने तर्क एकातिर छ भने दलको नेता उठ्दैमा समुहको नेता नहुने अर्काथरीको बुझाइ छ ।

संस्थापनइतरको नेता डा. कोइराला कि महामन्त्री थापा भन्ने विषयमा सो समुहको भेलाले समेत टुंगो लगाउन सकेन । आज मंगलबार समेत बस्ने भनेर बोलाइएको भेला राति आकस्मिक रुपमा स्थगित गरिएको छ । भेला स्थगित भएको जानकारी एसएमएस मार्फत दिइएको नेता जगदिसनरसिंह केसीले बताए ।

मंसिर ४ को चुनावी समिक्षादेखि संसदीय दलको नेताको निर्वाचन,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकोबारे र भावी कार्ययोजना समेतमा निर्णय लिन सो समुहले दुई दिन छलफल गरेको थियो । तेस्रो दिनको भेला स्थगित भयो र निर्णयविहिन भइदियो ।

सो छलफलमा पार्टी उपसभापति धनराज गुरुङले नेताहरूको महत्वाकांक्षालाई समयमै लगाम लगाइनुपर्ने सुझाव दिए । समुहभित्र रहने तर एक्लै-एक्लै नेता हुन्छु भन्नेलाई लक्षित गरी गुरुङले यस्तो सुझाव दिएको बुझिएको छ । उपसभापति गुरुङ पनि डा. शेखर समुहका प्रभावशाली व्यक्ति हुन् । उपसभापति गुरुङले कांग्रेस रुपान्तरण र सुधार अभियानको नेतृत्व शेखर कोइरालाले गर्नुपर्ने भन्दै एउटै व्यक्तिलाई नेता मान्नुपर्ने बताएका हुन् । उनको भनाइमा गगनलाई अहिले नेता मानेर जान नसकिने स्पष्ट लाईन देखिन्छ ।

‘भोलि मलाई पनि महत्वाकांक्षा जाग्ला, अनि अरु साथीको पनि रुचि बढ्ला । त्यसैले अहिले नै कमिटमेन्ट गरौं, हामी सबैको नेता शेखर कोइराला हो । अब हाम्रो समूहबाट सभापतिको उम्मेदवार पनि शेखरलाई घोषणा गरेर जानुपर्छ’, गुरुङले भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो- ‘सिनियर नेतालाई नै समुहको नेता मानेर जाऊँ अरुले अहिल्यै हतार नगरौं ।’

पार्टी संसदीय दलको चुनावमा सो समूहबाट गगन थापा उम्मेदवार बनेपछि समूहको नेता गगन कि डा. शेखर भन्ने बहस चलिरहेको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कि नदिने भन्ने कार्य सम्पादन समिति बैठकमा गगन थापाले ‘नोट अफ डिसेन्ट’ लेख्दा डा.कोइराला र गुरुङ भने मौन बसेका थिए । संसदीय दलको नेताको चुनावमा पनि डा.शेखर समूहकै केही जिम्मेवार नेताहरूले गगनलाई भोट नदिएको आरोप समेत लागेको छ । यसमा पनि गगनले समूहको नेता बन्न खोजेको भन्दै कोइराला समूहका सिनियर नेताहरू भड्किएको आरोप लागेको छ ।

शेखर-गगन समूहमै विभाजन हुनसक्ने वा नेताहरूमा अविश्वासको वातावरण देखिएपछि धनराज गुरुङ, डा.मिनेन्द्र रिजाल, डा.चन्द्र भन्डारीलगायतले गगनको महत्वाकांक्षा रोक्न शेखरलाई सभापति उम्मेदवार घोषणा गर्नुपर्ने सुझाव दिएका छन् ।

यता गगन थापा, अर्जुननरसिंह केसी, जगदीशनरसिंह केसीलगायतले भने पार्टी सभापति देउवासँग लड्न यो समुहमा एकता र विश्वास आवश्यक भएको बताएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय