सुर्खेतमा मध्यराति हाइलक्स दुर्घटना हुँदा चार जनाको मृत्यु
सुर्खेत, ८ माघ । सुर्खेतमा गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आइतबार विहान करिब साढे २ बजेको समयमा डबल क्याप हाइलक्स रत्नराजमार्ग सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको हो ।

छिन्चुबाट सदरमुकाम विरेन्द्रनगर जाँदै गरेको बा.प्र.०१-०२६च ९२१३ नं.को हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालक वीरेन्द्रनगरका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिकाका दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिकाका बबिन शाही र दैलेख गुराँस गाउँपालिकाका राजेन्द्र विसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनापछि उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याइएको भएपनि तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते दैलेख भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । उनको छातीमा चोट लागेको छ ।
Comments
