सिटौला वा ठाकुरलाई राष्ट्रपति बनाउने प्रचण्ड-देउवाको गोप्य तयारी

काठमाडौं, ६ माघ । सत्ता गठबन्धन र चुनावी गठबन्धन दुवैलाई आश्चर्य चकित बनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले नयाँ राष्ट्रपतिमा कृष्ण सिटौला वा महन्थ ठाकुरलाई अगाडि बढाउने तयारी गरेका छन् ।

नेपाली काङ्ग्रेस र मधेसवादी दललाई खुसी बनाउदै नेकपा एमालेले निहुँ खोजेपनि ५ वर्ष नै सरकारको नेतृत्व एमालेलाई नदिने दाउमा प्रचण्ड रहेको स्रोतको भनाइ छ । यद्यपि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली बीच आधा-आधा समय सरकारको नेतृत्व सहित प्रधानमन्त्री भागबन्डा भएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सत्तामा भागबण्डा खोजिरहेको नेपाली काङ्ग्रेसले समेत राष्ट्रपतिमा नेपाली काङ्ग्रेसका कृष्ण सिटौला वा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरमध्ये एकलाई उम्मेदवारी दिन लगाउने तयारीमा छ । महन्थ राष्ट्रपतिको उम्मेदवार भएमा सत्ताबाहिर रहेका अन्य दलले समेत समर्थन गर्ने वचन प्रधानमन्त्री प्रचण्डलाई दिइसकेको बुझिएको छ । प्रधानमन्त्री बन्न समर्थन गरेपनि नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चा सरकार बाहिर छ ।

राष्ट्रपतिमा एमालेबाहेक अरु कसैलाई सघाउने यो गोप्य सहमति भएपनि एमालेले समेत राष्ट्रपतिमा दाबी गरेकोले प्रधानमन्त्री प्रचण्डलाई भने यो कुराले अफ्ट्यारो आउन सक्ने विश्लेषकहरुको भनाइ छ । ‘एमालेसँगको पुर्व सहमति तोडेर जान माओवादीलाई सजिलो छैन’, एमालेका एक नेताले भने- ‘राष्ट्रपति एमालेको हुने र साढे दुई वर्षपछि केपी ओली प्रधानमन्त्री हुने कुरा अकाट्य जस्तै हो, यसमा दायाँबायाँ हुँदैन ।’

यता भित्र-भित्र राष्ट्रपति महन्थ वा नेपाली काङ्ग्रेसले कृष्ण सिटौला अगाडी सारेको अवस्थामा उनैलाई बनाउने बारे प्रचण्ड-देउवा बिच सहमति भएपनि देखावटीको लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु राष्ट्रपति कसलाई बनाउने भन्नेबारे गृहकार्यमा जुटेको देखाइएको छ ।

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिमा सबैलाई स्वीकार्य हुने व्यक्ति अघि सार्नुपर्छ भनेर लबिङमा लागेसँगै सत्ता गठबन्धनमा खटपट सुरु भएको चर्चा समेत छ । माओवादी सभामुख र राष्ट्रपति दुवै एमालेलाई दिन राजी भएपनि अहिले पार्टीभित्र विरोध शुरु भएको छ । खासगरी सत्ता गठबन्धन बनेकै दिन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमालेसँग राष्ट्रपतिबारे सहमति गरिसकेका छन् ।

१० पुसमा प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि बहुमत जुटाउने बेलामा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्रीमा माओवादी र एमालेले आलोपालो गर्ने, सभामुखमा पनि दुई दलबीच आलोपालोको सहमति छ । त्यस्तै, राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीले लिने सहमति छ । उपसभामुख भने रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले लिने सहमति अनुसार सोही पार्टीले पाइसकेको छ ।

उक्त सहमतिअनुसार नै प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् । प्रदेशमा मुख्यमन्त्री र सभामुख चयन पनि भैसकेको छ । प्रतिनिधि सभामा पनि सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भैसकेका छन् । सत्ता गठबन्धनबाट रास्वपाकी इन्दिरा राना उपसभामुख हुँदै छिन् ।

माघ अन्तिममा राष्ट्रपतिको निर्वाचन हुँदैछ । तर, यो चुनाव भने रोचक हुने देखिन्छ । यसमा ठ्याक्कै ह्वीप लगाएर मत माग्न पनि गाह्रो छ । माओवादी पार्टी र त्यसका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड एमालेलाई कुनैपनि हालतमा राष्ट्रपति दिनुहुँदैन भन्ने दबाबमा पुगेका छन् । उनलाई पार्टीभित्रैबाट यो दबाब सिर्जना भएको स्रोतको दाबी छ ।

गएको २६ पुसमा काँग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएसँगै राष्ट्रपतिको निर्वाचन र अन्य केही संवैधानिक पद र राजदुतमा काँग्रेसले पनि भाग खोज्‍ने बुझिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय