जनताको असल प्रतिनिधि नरेन्द्र अर्थात ‘भगवान’

प्रतिक भट्ट

नेपालमा १०४ वर्षे राणा शासन र ३० वर्षे पञ्‍चायती व्यवस्थाको अन्त्यपछि प्रजातन्त्र र बहुदलीय व्यवस्थाको उदय भयो । २०४६ सालको जन आन्दोलनपछि पनि जनताको आफ्नै सरकार वा आफ्नै मतबाट निर्वाचीत प्रतिनिधिले जनताको समस्यामा ध्यान दिन सकेको थिएन ।

त्यसपछिको राजनीतिक घटनाक्रमले देशमा गणतन्त्र स्थापना गरेसंगै अहिले जनताले संविधानसभा निर्वाचन मार्फत बनाएको लोकतान्त्रिक संविधान छ । यही संविधान अन्तर्गत देशमा मजबुत स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार चलेको छ । जनताको समस्या यही तीन तहको सरकारले समाधान गर्दै आएको छ । त्यसमा पनि स्थानीय सरकार सबैभन्दा बढी प्रभावकारी र जनतासंँग नजिक छ । अर्थात, स्थानीय सरकारले जनताको दैनिक जिवनमा आइपर्ने साना-ठुला जस्तोसुकै दु:ख-सुखमा सघाउन सकेको छ ।

यस्तै स्थानीय तह अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर-६ का जनप्रतिनिधिमध्येका एक हुन नरेन्द्रकुमार थापा (भगवान) । उनको नाम नरेन्द्र भएपनि जनताले चिन्ने नाम हो ‘भगवान’ । यसलाई कुनै धर्मसँग नजोडी कर्मसँग जोड्दा पनि वडावासीका लागी नरेन्द्रकुमार थापा साँच्चिकै ‘भगवान’ भएका छन् ।

जनताले दु:ख वा समस्या पर्दा सम्झिने भनेकै भगवान हो । हुन पनि काठमाडौ महानगरपालिका वडा नम्बर-६ मा काम लिएर आइपुग्ने जोकोहीको मुखबाट निस्कने पहिलो नाम हो ‘भगवान’ । अझै रमाइलो कुरा के छ भने वडा अध्यक्ष भुवन लामा समेतले कुनै कुरा शेयर गर्नुपर्दा वा निर्णय लिनुपर्दा पनि झ्वाट्ट सम्झिने नाम नरेन्द्र अर्थात ‘भगवान’ नै हो । यद्यपि वडाको नेतृत्व भुवन लामा र उनको टिमले गरेको छ । सबैको भुमिका महत्त्वपूर्ण र जनताको अपेक्षा अनुसार नै छ ।

तर पनि नरेन्द्रकुमार थापाको त्यसरी नाम अगाडि आउनुको मुख्य कारण उनी सरल र सहयोगी छन् । त्यसमाथि वडा सदस्यको रुपमा उनको यो दोस्रो कार्यकाल हो । यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा पनि भगवान वडा सदस्यमा निर्वाचीत भएर ५ वर्ष राम्रो कार्य सम्पादन गरेका ब्यक्ति हुन् । अहिले उनी फेरि वडा सदस्यमै दोहोरिनु उनको लोकप्रिय काम र जनताको रोजाइ अनि पार्टीको चाहना पनि हो ।

काठमाडौं-६ बौद्धको रामहिटीमा जन्मेका नरेन्द्र थापा (भगवान)ले निमावि सम्मको अध्ययन बौद्धमै गरेपनि त्यसपछिको एसएलसी सम्मको शिक्षा सिन्धुपाल्चोकबाट पूरा गरे । सिन्धुपाल्चोक उनको मामाघर भएकोले मामाघरका हजुरबुबा/हजुरआमाको चाहनामा उनले आनन्द मावि सिन्धुपाल्चोकबाट एसएलसी पास गरे । त्यही समय सिन्धुपाल्चोकको जलबिरे बजारमा नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतको टिमले एउटा लाइब्रेरी चलाएको थियो । नरेन्द्र अर्थात भगवान त्यो लाइब्रेरीको जिम्मेवारीमा रहेकोले नेपाली काङ्ग्रेसको राजनीति बुझ्ने र वीपी कोइरालाका पुस्तकहरू अध्ययन गर्ने मौका मिल्यो । त्यसैबेलादेखि राजनीतिमा चासो राखेका भगवान एसएलसीपछिको अध्ययनका लागि शंकरदेव कलेज भर्ना भए । कलेज अध्ययनको क्रममा भगवानले नेपाल विद्यार्थी संघको राजनीति र त्यसपछि नेपाली काङ्ग्रेसको राजनीति गर्न थाले ।

२०५२ सालमा नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता लिएपछि भगवान सो पार्टीको बौद्ध इकाइको कोषाध्यक्ष रहे । हाल उनी नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य छन् । पार्टी राजनीतिसँगै उनी सामाजिक र धार्मिक संघ-संस्थासँग समेत जोडिँदै गए । जसले गर्दा उनलाई वडावासीले जनप्रतिनिधिको रुपमा हेर्न चाहे । जनताको चाहना, उनको इच्छा अनि उनको पार्टीको योजना अनुसार उनि २०७४ मा वडा सदस्यमा निर्वाचित भए ।

२०७४ देखि २०७९ सम्म वडा सदस्यको जिम्मेवारीमा उनी अब्बल जनप्रतिनिधि बनेर देखिए । त्यसैले पनि उनलाई फेरि २०७९ को स्थानीय निर्वाचनमा जनताले मत दिएर दोस्रोपटक जिताए । यदि उनको काम गर्ने शैली मन नपरेको भए सायद जनताले दोस्रोपटक जिताउने थिएनन् । ‘मलाई जनताको काम जतिसक्दो छिटो र बिना झन्झट गर्न सक्दा खुसी मिल्छ’, वडा सदस्यको कुर्सीमा बसेर जनताको सेवा गर्दागर्दै उनले परेवान्युजसँग भने- ‘मैले जनताको मत र मन लिएर आएको छु त्यसैले जनतालाई सेवा दिनु मेरो कर्तव्य हो । काम हुँदैन भनेर निराश बनाएर फर्काउन सक्दिनँ ।’

बिदाको दिनबाहेक जुन समयमा वडावासी कार्यालय पुग्दा पनि भगवान जनताको सेवक भएरै खटिएका भेटिन्छन । यही असल जनप्रतिनिधि भएकै कारण काठमाडौ महानगरपालिकाले समेत उनलाई उत्कृष्ट जनप्रतिनिधिको रुपमा नगद सहित जनसेवाश्री सम्मान समेत दिएको छ ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहबाट सम्मान लिँदै नरेन्द्र

वडा सदस्य र पार्टी राजनीतिसँगै सामाजिक जीवनमा पनि भगवानले आफुलाइ सक्रिय रुपमा अगाडि बढाइरहेका छन् । उनले टोल सुधार समिति, महामृत्युन्जय मन्दिर संरक्षण समिति र बाचस्पतीन्द्रेश्वर धार्मिक संस्थामा समेत रहेर काम गरेका छन् ।

लाखेपोखरी पार्क विकास समितिको दुई कार्यकाल अध्यक्ष भएका भगवान विभिन्न पुरस्कार बाट समेत सम्मानित भएका छन् । बौद्ध तामाङ गुठी, अरुणिमा शैक्षिक प्रतिष्ठान, अलौकिक टोल विकास समितिलगायत दर्जनौं सामाजिक, धार्मिक र शैक्षिक संस्थाले उनलाई सम्मान गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय