पोखरा विमान दुर्घटनामा पत्रकार पौडेलको निधन

पोखरा, १ माघ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पौडेलको शव सनाखत भएको नेपाल पत्रकार महासंघ कास्कीले जनाएको छ ।
पौडेलले पोखरामा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका थिए । उनी माओवादी केन्द्रनिकट संगठन नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्ष समेत हुन् । प्रेस सेन्टर पोखराको बैठकको तयारीमा रहेका उनी सोही बैठकको मिति तय गर्न काठमाडौं पुगेका थिए ।
माओवादी केन्द्रका अध्यक्षस एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण समय नमिलेपछि १/२ दिनमा फेरि काठमाडौं फर्किने गरी पौडेल यती एयरलायन्सको जहाजमा पोखरा फर्किंदै थिए ।
कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गरेका उनी पोखराको दैनिक पत्रिका पोखरा हटलाइनको सम्पादक पनि हुन् । उनी नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए ।
पौडेलको निधनमा नेपाल पत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ ।
पौडेलले पोखराकै अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए ।

