माघमा ‘गुड न्युज’ आउँछ भन्दै ओलीले फकाए रेशमलाई

काठमाडौं, २७ पुस । टिकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई माघ महिनामा रिहा गर्ने गुलियो ‘ललीपप’ देखाएर सुदुरपश्चिम सरकारमा एमालेले बाजि मारेको छ ।
नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नाउपाका संरक्षक चौधरीलाई फोन गरेर माघमा ‘गुडन्युज’ आउँछ प्रदेश सरकार गठनमा सहयोग गर्नुपर्यो भनेपछि एमालेले सुदुरपश्चिममा सरकार गठनको दावी पेश गरेको हो । काठमाडौंको डिल्लीबजार जेलमा रहेका चौधरीलाई बुधबार दिउँसो ओलीले फोन गरेर ‘छुट्ने’ बचन दिएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार ओलीले फोन गरेर सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग माग्दै यस्तो वचन दिएका हुन् । चौधरी निकट स्रोतका अनुसार ओलीले ‘माघमा गुड न्युज आउँछ तपाईले सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग गर्नुपर्यो’ भनेका थिए ।
ओलीको फोनपछि चौधरी सकारात्मक देखिएको तर, यदि माघ महिनाभित्र टिकापुर घटनाको मुद्दा फिर्ता नलिएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चौधरीले चेतावनी दिएको ती नेताले बताए ।
ओली भन्दा अगाडी नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत चौधरीलाई फोन गरेको स्रोतको दाबी छ ।

