प्रचण्ड बहुमतसहित प्रचण्डलाई विश्वासको मत
दुई सांसद मात्रै विपक्षमा
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट अत्याधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका हुन् ।
संसदमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रधानमन्त्री प्रचण्डका पक्षमा मत दिएका थिए । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरे । उनीहरुले छलफलकै क्रममा विपक्षमा मतदान दिने बताइसकेका थिए ।
नेकपा एमालेसहित विभिन्न सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

