प्रधानमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम छ ।
चुनावी गठबन्धन छाडेर पुस १० गते नेकपा एमाले समेतको समर्थनमा बनेको नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेका थिए । यसमा उनकै पार्टी नेकपा माओवादी केन्द्रसंगै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थन छ ।
यद्यपि समर्थन गर्ने मध्यका केही पार्टी प्रतिपक्षमा बस्ने बुझिएको छ । पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना भित्रै विश्वासको मत लिन लागेका हुन् ।
मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।
प्रधानमन्त्री बन्न समर्थन नगरेका र सरकारमा सहभागी नभएका अन्य दलहरूले समेत प्रचण्डलाई विश्वासको मत दिन आश्वासन दिएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएका छन् । यद्यपि काङ्ग्रेसको पदाधिकारी बैठक एकछिनमा बस्दैछ । प्रचण्डले सोमबार मात्रै देउवा निवास धुम्बाराहीमा भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए ।
यसअघिको सरकारमा रहेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने अहिलेसम्म विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेको छैन ।
विश्वासको मतका लागि सबै तयारी पूरा भइसकेको छ । प्रतिनिधि सभाको बैठक सोमबारदेखि नै सुरु भएको छ । ज्येष्ठ सदस्यको हैसियतले राप्रपाका पशुपतिशम्शेर जबराले बैठक सञ्चालन गरिरहेका छन् ।

