के प्रचण्डले देउवालाई धोका दिन सक्छन् ?

काठमाडौं, ८ पुस । नयाँ सत्ता समीकरण बनाउने विषयमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच नेकपा एमालेको ‘इन्ट्री’ले हालको सत्ता गठबन्धन भत्किने खतरा देखिएको छ ।
केही दिनदेखि एमाले-माओवादी हिमचिम बढ्नु र माओवादी नेताहरूले काङ्ग्रेसलाई भन्दा एमाले नेतालाई भेट्न खोज्नुले यो संकेत गरेको छ ।
स्रोतका अनुसार माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुन चीनमा उपचार गरेर फर्केलगत्तै माओवादीले काङ्ग्रेससँग सत्ताको नेतृत्व आलोपालोमा पहिलो प्रधानमन्त्री मागेपछि राजनीतिले अर्कै मोड लिन थालेको बुझिएको छ ।
प्रतिनिधिसभाको शपथग्रहण पछि नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच देखिएको खुशी र मिलनलाई आकस्मिक र संयोग मात्रै मान्न नसकिने राजनीतिक विष्लेशकहरु बताउँछन् ।

‘अहिल्यै प्रधानमन्त्री नपाए गठबन्धन अगाडी बढ्दैन’, चीनबाट आएलगत्तै उपमहासचिव पुनले आफ्ना नजिकका नेताहरूसँग भनेका थिए । उपमहासचिव पुनकै जस्तो भनाइ माओवादी नेताकार्यकर्ताको समेत रहेको छ । काङ्ग्रेससँग सहकार्य गर्दा अहिले राष्ट्रपति समेत छाड्नुपर्ने भएकोले एमालेले अगाडि सारेको विकल्पमा जाँदा उपयुक्त हुने सुझाव अध्यक्ष प्रचण्डलाई दिइएको छ ।
एमाले-माओवादी सत्ता सहकार्यले वामपन्थीहरुको जनमत बढ्ने, भविष्यमा पार्टी एकता गर्न सकिने र अझैपनि विश्वका थोरै देश मध्ये नेपाल पनि कम्युनिस्ट सत्ता भएको देश भनेर चीन लगायतको सहयोग पाइने एकाथरीको विश्लेषण छ ।
अध्यक्ष प्रचण्डको सानो समुह हालको गठबन्धनभित्र बाट नै सरकार गठन गर्नुपर्ने र प्रधानमन्त्री आफुले लिनुपर्ने भन्नेमा अझै अडिग देखिन्छ । तर, प्रचण्डको एकलौटी निर्णय अब पार्टीमा नचल्ने भन्दै नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत नेता एमालेसँग नियमित भेटघाट र छलफलमा छ्न् ।
एमालेले राष्ट्रपति सुवास नेम्वाङलाई बनाउन र प्रधानमन्त्री प्रचण्डलाई बनाउन सकिने गरी नयाँ खाका समेत अगाडि सारेको स्रोतको भनाइ छ । एमालेभित्रको माओवादी विरोधी धार निर्वाचनमा पराजित भएका कारण एमाले माओवादी नजिक हुने अवस्था आएको एमालेका एक केन्द्रिय सदस्य बताउँछन् ।
‘ढिलो चाँडो बामपन्थीहरु एक ठाउँमा आउनैपर्छ’, एमाले नेता भन्छन्- ‘हिजोको गल्ती कमजोरी जे भएपनी अब गल्ती नगरौं भन्नेमा सबै सहमत छौं ।’

