करेन्ट लगाएर श्रीमतीको हत्या, घटना लुकाउन गाडीले किचियो

पर्सा, ७ पुस । पर्साको वीरगञ्‍जमा एक व्यक्तिले करेन्ट लगाएर श्रीमतीको हत्या गरेका छन् भने घटना लुकाउन गाडिमूनि राखेर किचेको तथ्य बाहिर आएको छ ।

३० वर्षीय रिंकु कुमारीको हत्यामा संलग्‍न उनका पति वीरगञ्ज महानगरपालिका–२७ जसौलीका ३४ वर्षका कुशल दास र कुशलका भाइ २८ वर्षका भरत दासलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार विहान जसौलीमा टाउको किचिएको अवस्थामा रिंकुको शव भेटिएको थियो । त्यसपछि उनका पति कुशलसँग सोधपुछपछि अनुसन्धान गर्दा रिंकुको हातमा करेन्टले पोलेको जस्तो दाग देखेपछि प्रहरीले हत्याको आशंका गरेको थियो ।

थप सोधपुछ गरेपछि कुशल र उनका भाइ मिलेर रिंकुको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । कुशलले आफ्नी पत्नी पहिलेदेखि नै परपुरुषसँग लागेको शंका लागेकाले मंगलबार राति हत्या गरेको स्वीकार गरेका छन् ।

उनले मध्यरातमा करेन्ट प्रवाह भइरहेको बिजुलीको नाङ्गो तारले बायाँ हातमा करेन्ट लगाई हत्या गरेको बताएका छन्। हत्यापछि कुशलले आफ्नै भाइ भरतलाई बोलाई सल्लाहमा रिंकुको शवलाई सडकमा राखी उनले चलाउने बोलेरोले किचेर घटनाको परिवेश बदल्न खोजेको प्रहरीसमक्ष बताएका हुन् ।

हत्यामा प्रयोग गरिएको ना ३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने बोलेरो लुकाइछिपाइ राखेको अवस्थामा वीरगञ्ज १७ अलौस्थित शिवम ह्याचरीभित्र बरामद गरिएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय