संसदीय दलको चुनाव: गगनलाई पहिल्यै थाहा थियो रिजल्ट !

काठमाडौं, ६ पुस । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन । देउवाले प्रतिस्पर्धी पार्टी महामन्त्री गगन थापालाई पराजित गरेका हुन् । बुधबार बिहान भएको मतदानमा सभापति देउवाले ६४ मत पाएर बिजयी हुँदा महामन्त्री थापाले जम्मा २५ मत मात्रै पाएका थिए ।
निर्वाचनको लागि मंगलवार उम्मेदवारी दर्ता गरेदेखि नै संस्थापन पक्षले थापा पक्षलाई दबाबमा राखेको थियो । स्रोतका अनुसार गगन जाने ठाउँ, गगनले भेट्ने सांसद, अनि हुने कुराकानी बारे समेत निगरानी थियो ।
त्यसैले पनि बुधबार विहान मतदान अगाडि नै महामन्त्री थापा अप्रत्याशित रिजल्ट आउनेमा ढुक्क थिए । गगनलाई भोट दिन सक्छन् कि भनेर केही सांसदको निगरानी गरिनु, मोबाइल लैजान नपाउने भन्दा पनि फोटो खिचिनु र देउवा पत्नी आरजु राणाको मतदानस्थलमा चहलपहल भैरहनुले रिजल्ट गगनको पक्षमा आउँदैन भन्नेमा धेरैले अनुमान लगाएका थिए ।
संसदीय दलको नेतामा विजयी भएसँगै देउवालाई छैटौं पटक नेपालको प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । यद्यपि प्रधानमन्त्री बन्न उनको पार्टीको बहुमत छैन । काङ्ग्रेस समेत अन्य दलको समर्थनमा हुने प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्न भने देउवाको लागि बाटो खुलेको छ ।
सरकार गठनका लागि आबश्यक १३८ सांसद मध्य नेपाली काङ्ग्रेस सङ्ग ८९ मात्रै छ । बाँकी ४९ जनाको समर्थन लिन काङ्ग्रेसले हालको गठबन्धन भित्रका माओवादी, समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालाई साथ लिँदा समेत बहुमत पुर्याउन कठिन छ ।
यद्यपि अहिलेकै गठबन्धनमा सिके राउत नेतृत्वको जनमत पार्टी र उपेन्द्र यादव नेतृत्वको जसपा अनि रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी समेतलाई ल्याउने प्रयास भने हुनेछ ।

