नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

फाइल तस्वीर

चितवन, ५ पुस । नारायणगढ-मुग्लिन सडकखण्डमा आज(मङ्गलबार) देखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने विभिन्‍न पुलको निर्माण कार्यका लागि सवारी रोक्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा एक साताअघि सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको थियो । सडक विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।

भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।

नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोकिने छ भने मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म विहान १०ः५० बजेदेखि रोकिने छ ।

त्यसैगरी काठमाडौंतर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ ।

यस्तै, काठमाडौं तर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा विहान १०ः४५ बजे रोकिने छ

यस समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय