विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्यो, फ्रान्स टाइब्रेकरमा पराजित

काठमाडौं, ४ पुस । कतारमा सम्पन्न फिफा विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले हराउँदै अर्जेन्टिनाले तेस्रोपटक उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेल २-२ र थपिएको अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा फ्रान्सको एक प्रहार अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले बचाउँदा अर्को प्रहार बाहिरिएको थियो ।
फ्रान्सका किलियन एमबाप्पे र अर्जेन्टिनाका लियोनल मेस्सीको पहिलो प्रहार गोल भएका थिए । फ्रान्सका किंग्सले कोमानले गरेको दोस्रो प्रहार गोलरक्षक मार्टिनेजले बचाए । अर्जेन्टिनाका पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।
त्यसपछि फ्रान्सका औरेलिएन चुआमेनीले बाहिर प्रहार गरेपछि अर्जेन्टिनाका लियान्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २ गोलले अघि बढाए । फ्रान्सका कोलो मुआनीले चौथो प्रहारमा गोल गरेपनि त्यसपछि गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनाको जीत पक्का गरे ।

त्यसअघि निर्धारित समय र अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएको थियो । खेलको २३अौं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३६अौं मिनेटमा बनेको काउन्टर मुभमा एन्जेल डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।
८०अौं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । त्यसको दुई मिनेट नबित्दै एमबाप्पेले फ्रान्सलाई बराबरीमा ल्याए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्त समयको १०९अौं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । लाउतारो मार्टिनेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाएपनि रिबाउन्डमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई पुनः अगाडि ल्याए । मेस्सीको प्रहार जुलियस कोन्डेले क्लियर गरेपनि उनी पोस्टभित्र रहेका थिए ।
अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सले पुन: बराबरी गोल फर्कायो । किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए । त्यसपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।


