अन्तर्घात गरेको भन्दै काङ्ग्रेस केन्द्रिय सदस्य मधु र गणेशविरुद्ध उजुरी

काठमाडौं, ३ पुस । नेपाली काङ्ग्रेस काभ्रेले चुनावमा अन्तर्घात गरेको भन्दै जिल्लाका दुई केन्द्रिय सदस्य सहित क्षेत्रीय सभापतिलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।
गएको मंसिर-४ को प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेकाे आराेपमा नेपाली कांग्रेस जिल्ला समिति काभ्रेको बैठकले केन्द्रिय सदस्य मधु आचार्य र गणेश लामालाई कारवाही सिफारिस गरेकाे हाे।
नेपाली काङ्ग्रेस काभ्रेका सभापति तीर्थ लामाले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य आचार्य र लामा सहित प्रतिनिधि सभा-२ का क्षेत्रिय सभापति महेश खरेलले पार्टीको आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको यथेष्ट आधार प्राप्त भएकोले कारबाही गरेकाे उल्लेख गरेका छन् ।
त्यसैगरी बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधिसभा सदस्यलाई ३ हजार १५५ मत कम आउनुको कारणबारे पनि प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिसँग स्पष्टीकरण माग गरेकाे काभ्रे काङ्ग्रेसले जनाएको छ ।

