एमाले-माओवादी झडपमा ९ घाइते

डोल्पा, २६ मंसिर। डोल्पामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी दुवैतर्फका गरी ९ कार्यकर्ता घाइते भएका छन् ।

जिल्लाको जगदुल्ला गाउँपालिका-३ थापागाउँमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट हुँदा एमालेका ४ र माओवादीका ५ गरि ९ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।

उनीहरुबीच जगदुल्ला गाउँपालिका-३ को वडा कार्यालय नजिकै झडप भएको हो । झडपमा परी एमाले समर्थित थापागाउँका ४२ वर्षीय जालपा बोहोरा, ५० वर्षीया शान्ता बोहोरा, ३८ वर्षीया भद्र बोहोरा र सोही ठाउँमा १२ वर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् ।

यस्तै, सोही ठाउँका माओवादी समर्थित जगदुल्ला थापागाउँका ५९ वर्षीया बिर्ख बोहोरा, १८ वर्षका लक्ष्मण बोहोरा घाइते भएका छन् । ५४ वर्षका गोरसिंह बोहरा, १६ वर्षीया पबिन्द्र बोहरा र २१ वर्षका जगत बोहरा घाइते भएको कर्णाली प्रदेस प्रहरी कार्यालयले जनाएको छ ।

मादक पदार्थ सेवन गरेपछि विवाद हुँदा झडप भएको स्थानीयको भनाइ छ । घाइते सबैको शरिरका विभिन्न भागमा चोट लागेको छ ।

उनीहरुको स्थानीय स्वास्थ्य चौकी झ्याकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय