‘गगन जी ! आफ्नै टाउकोबाट बगेको रगतको अपमान नगर्नुस्’

काठमाडौं, २५ मंसिर । नेपाल समाजवादी पार्टीका सह-अध्यक्ष तथा प्रदेश सांसद गंगा श्रेष्ठले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आफ्नो टाउको फुटाएर ल्याएको उपलब्धिलाई अपमान नगर्न सुझाव दिएका छन् ।

आफुलाइ भावी प्रधानमन्त्रीको दाबेदार समेत मान्दै आएका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य काङ्ग्रेस महामन्त्री थापाले सङ्घियता मासेर पुनः एकात्मक र केन्द्रीकृत प्रणाली चाहिन्छ भनेर दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै श्रेष्ठले उक्त सुझाव दिएका हुन् ।

‘यथास्थितिको विकल्प खोज्ने नाममा वा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रयासमा सङ्घीयता मासेर पुनः एकात्मक र केन्द्रीकृत प्रणाली चाहिन्छ भन्नु हिजो आफैँले बगाएको रगतको अपमान हो’-श्रेष्ठले भनेका छन् ।

अहिलेको सङ्घीयतालाई अझै सुन्दर बनाउनतर्फ जानुपर्ने भन्दै श्रेष्ठले यथास्थितिको विकल्प अग्रगामी सोच र एजेन्डामार्फत दिनुर्ने बताए । पद प्राप्तिको मूल्यमा कसैले पनि संविधानको व्यापार नगरौं भनेर उनले भनेका छन् । श्रेष्ठको भनाइ जस्ताको तस्तै हेरौं :-

गगनजी !
नेपालको संविधान २०७२ कसैले सित्तैमा दान, बक्सिस, उपहार दिएको होइन भन्ने कुरा आन्दोलनमा तपाईंको टाउको बाट बगेको रगत साक्षी छ । यो संविधान नेपाली नागरिकले रगतसँग साटेको हो । यसका प्रत्येक अक्षरहरू रगतले लेखिएका छन् । यसर्थ यस संविधानको रक्षा गर्नु तपाईं हाम्रो पहिलो कर्तव्य हुन आउँछ ।
तर विडम्बना ! यथास्थितिको विकल्प खोज्ने नाममा वा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रयासमा सङ्घीयता मासेर पुनः एकात्मक र केन्द्रीकृत प्रणाली चाहिन्छ भन्नू हिजो आफैंले बगाएको रगतको अपमान होइन र ? निश्चय नै म पनि अहिलेको यथास्थितिको अग्रगामी विकल्प खोज्नुपर्छ साथै पार्टी र राज्य दुवै ठाउँमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण हुनैपर्छ भन्ने कुरामा चट्टान झैँ दृढ छु ।
प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने सपनासहित प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । त्यसका लागि बधाई ! म पनि मुख्यमन्त्री बनेर बागमती प्रदेशको नेतृत्व गर्ने सपनासहित प्रदेश सभामा निर्वाचित भएर आएको छु । तर म मुख्यमन्त्रीसँग सङ्घीयता साट्ने पक्षमा छैन ।
अहिलेको सङ्घीयता सङ्घवादको सिद्धान्तमा आधारित सङ्घीयता होइन । त्यसैले यो सङ्घीयतालाई कसैले पनि सुन्दर देख्न सकिरहेका छैनन् । सन्तान सुन्दर जन्मिएन भनेर सन्तानको हत्या गरिन्छ कि त्यसलाई सुन्दर बनाउनेतर्फ लागिन्छ ? सुन्दर बनाउनेतर्फ लागिन्छ ।

त्यसैले प्रिय मित्र गगनजी ! आउनुहोस् यो सङ्घीयतालाई सङ्घवादको सिद्धान्तमा आधारित सङ्घीयता बनाऔँ । यथास्थितिको विकल्प अग्रगामी सोच र एजेन्डामार्फत दिऔँ । पद प्राप्तिको मूल्यमा कसैले पनि संविधानको व्यापार नगरौँ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय