नेपालमाथि स्कटल्यान्डको सहज जीत

श्रृंखलामा नेपाल जीतविहीन

काठमाडौं, २२ मंसिर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । नेपाललाई स्कटल्यान्डले ८ विकेटले हराएको हो ।

नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्यान्डले १७ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । स्कटल्यान्डको जीतमा क्रिस्टोफर माकब्राइडले ४६ रनको अविजित पारी खेल्दा जर्ज मुन्सेले ४५ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालको खराब ब्याटिङ आज पनि जारी नै रह्‍यो । नेपालले ३५.३ ओभरमा अलआउट हुँदै ११९ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान दिए ।

सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउनै सकेनन् । ज्ञानेन्द्र मल्ल ९, आरिफ शेख ६, गुल्शन झा ५, आसिफ शेख, हरिशंकर साह १-१ रनमा आउट हुँदा अर्जुन साउदले खाता खोल्न सकेनन् ।

स्कटल्यान्डका मार्क वाट, ब्रान्डन माकमूलन र सफ्या सरिफले दुई-दुई विकेट लिँदा क्रिस सोल, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्रिभ्सले १-१ विकेट लिए ।

यस हारसँगै नेपाल यस श्रृंखलामा जीतविहीन बनेको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने त्यसपछिका तीनवटै खेलमा नेपालले निराशाजनक हार व्यहोरेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय