माओवादी २७, एमाले २४ र काङ्ग्रेस १२ जिल्लामा शून्य !

परेवान्युज

काठमाडौं, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सकिएर अन्तिम मत परिणाम सार्वजनिक हुँदा ठुला तीन दल काङ्ग्रेस, एमाले र माओवादीकै वर्चस्व रहेको देखियो । यद्यपि यो निर्वाचनमा नेपाली काङ्ग्रेस १२ जिल्लामा शून्य भयो भने नेकपा एमाले २४ र नेकपा माओवादी केन्द्र २७ जिल्लामा शून्य भयो ।

तथ्यगत हिसाबले हेर्दा प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ठुला तीन दल काङ्ग्रेस, एमाले र माओवादीले ७२ प्रतिशत अर्थात १ सय १९ सिट जितेका छन् । यसैगरी प्रदेशसभाको देशभरका ३ सय ३० क्षेत्रमध्ये यिनै तीन दलले ७७ प्रतिशत जितेका छन् । अर्थात् ३ सय ३० मध्य २ सय ५५ अर्थात ७७ प्रतिशत सिट काङ्ग्रेस,एमाले र माओवादीले जिते ।

यसमा सबैभन्दा लज्जास्पद अवस्था माओवादी केन्द्रको देखियो । काठमाडौ उपत्यकाभित्र माओवादीले एक सिट पनि जितेन । प्रतिनिधिसभाका १५ र प्रदेशका ३० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा उपत्यकाका तीन जिल्लामा माओवादीको उपस्थिति शून्य देखियो ।

माओवादीले इलाम, झापा, ताप्लेजुंग, धनकुटा, सप्तरी, सिराहा, बारा, काठमाडौंमा, भक्तपुर र ललितपुरमा कुनैपनि सिट जितेन । यसैगरी कास्की, नवलपरासी पूर्व, पर्वत, मनाङ, मुस्ताङ, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी ( पश्चिम), प्यूठान, बर्दिया र रूपन्देहीमा पनि माओवादीका कुनै पनि सिट छैन । जुम्ला, बाजुरा र बैतडीमा पनि माओवादीको उपस्थिति छैन ।

यता नेकपा एमालेको भोजपुर धादिङ, नुवाकोट, रसुवा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीमा उपस्थिति शून्य रहेको छ । त्यसैगरी गोरखा, बागलुङ, मुस्ताङ, मनाङ, म्याग्दी, दाङ, बर्दिया, रूकुम पूर्व र रोल्पामा एमालेकाे कुनैपनि उम्मेदवार विजयी भएनन् । त्यस्तै सल्यान, हुम्ला, कालिकोट, रुकुम पश्चिम, अछाम, डडेलधुरा, दार्चुला, बझाङ र बाजुरामा एमाले शून्य भयो ।

यसैगरी नेपाली काँग्रेस पनि १२ जिल्लाबाट बढारिएको छ । धनकुटा, सोलुखुम्बु, पाँचथर, बारा, सिराहा, पर्वत, अर्घखाँची, रोल्पामा, रुकुम पश्‍चिम, डोल्पा, जुम्ला र डोटीमा कांग्रेस शून्य भएको छ । यद्यपि काङ्ग्रेसले उपत्यकासहित बागमती प्रदेशका सबै जिल्लामा उम्मेदवार जिताएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय