भारतमाथि बङ्गलादेशको एक विकेटको रोमाञ्‍चक जीत

काठमाडौं १८ मंसिर । भारतसँगको पहिलो एकदिवसीय खेलमा घरेलु टोली बङ्गलादेशले रोमाञ्‍चक जीत निकालेको छ । बङ्गलादेशले भारतलाई १ विकेटले हराएको हो ।

भारतले दिएको १८७ रनको लक्ष्य बङ्गलादेशले ४६ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्‍यो । बङ्गलादेशको जीतमा मेहदी हसन मिराजले अविजित ३८ रनको पारी खेले ।

अन्तिमविकेटका लागि मिराजले मुस्तफिजुर रहमानसँग मिलेर ५१ रनको साझेदारी गरे जुन बङ्गलादेश क्रिकेटमा १०औं विकेटका लागि अहिलेसम्मकै सर्वाधिक रनको साझेदारी हो ।

१३६ रनमा ९ विकेट गुमाएको अवस्थाबाट बङ्गलादेशको इनिङ दुई ब्याटरले उकासेका थिए । त्यसअघि लिटन दासले ४४ रनको योगदान दिए भने शाकिब अल हसनले २९ रन बनाए ।

भारतका मोहम्मद सिराजले ३, कुलदिप सेन र वासिङटन सुन्दरले २-२ तथा दीपक चहर र शार्दुल ठाकुरले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४१.२ ओभरमा अलआउट हुँदै १८६ रन बनाएको थियो । भारतका केएल राहुलले सर्वाधिक ७३ रन बनाए । ओपनर रोहित शर्माले २७, श्रेयस अय्यरले २४ र वासिङ्टन सुन्दरले १९ रन बनाए ।

बंगलादेशका शाकिब अल हसनले १० ओभरमा २ मेडनसहित ३६ रन खर्चेर ५ विकेट लिए भने इबादोत हुसेनले ४ विकेट लिए । मिराजले १ विकेट लिए

दोस्रो खेल बुधबार हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय