माओवादी-एमाले सत्ता ‘बार्गेनिङ’ गर्दै

परेवान्युज

काठमाडौं, १८ मंसिर। नयाँ सरकार गठन गर्ने विषयमा नेकपा माओवादी केन्द्रले हालको गठबन्धनबाहेक एमालेसँग पनि छलफल गर्ने भएको छ । पार्टीको पदाधिकारी बैठकमा माओवादीले ‘सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने’ निर्णय समेत गरेको छ ।

यसले गठबन्धनका सहयात्री दल नेपाली काङ्ग्रेस र नेकपा (एकीकृत समाजवादी) लाई झस्काएको छ भने एमालेभित्रको एउटा समुह खुशी छ । यद्यपि माओवादीले यसलाई सत्ता ‘बार्गेनिङ’को माध्यम मात्रै बनाएको समेत चर्चा छ ।

पदाधिकारी बैठकपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले एमालेसँग छलफल गर्ने र गठबन्धन पनि नछाड्ने निर्णय गरेको बताए ।’अन्य विकल्पमा पनि खुला रहने निर्णय भयो’ उनले भने- ‘तर, अहिलेको गठबन्धन छाड्ने निर्णय पनि गरेका छैनौं ।’

भर्खरै सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अपेक्षा गरे अनुरुप सिट आउन नसकेको समिक्षा समेत गरेको माओवादीले काङ्ग्रेसले भोट नदिएका कारण केही सिट गुमाउनुपरेको निष्कर्ष समेत निकालेको छ ।

माओवादीका महासचिव देव गुरुङले पनि वार्ता र संवाद एमालेसँग हुनसक्ने तर गठबन्धन छाडिनहाल्ने बताए । उनले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे अझै गम्भीर समिक्षा सहित छलफल हुने उनले बताए । ‘राजनीतिक कोर्स जता पनि जान सक्छ’, गुरुङले भने- ‘अहिले यहि गठबन्धन यथावत छ । तर, भावी यात्राबारे जेपनि हुनसक्छ ।’ माओवादी महासचिव गुरुङ लमजुङबाट पराजित भएका थिए । उनले त्यहाँ काङ्ग्रेसले आफुलाइ भोट नदिएको गुनासो गरेका छन् ।

यता नेकपा एमालेभित्र पनि बामपन्थी एकता र सरकार गठनका विषयमा वार्ता र संवाद सुरु गर्ने तयारी छ । स्रोतका अनुसार एमाले उपाध्यक्ष सुबास नेम्वाङ र उपमहासचिव तथा प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले यो तयारी सुरु गरिसकेका छन् । माओवादी र एमालेका केही नेताले सत्ता बार्गेनिङसहित विविध बिषयमा अनौपचारिक छलफल सुरु गरेको एमालेका एक नेताले बताए ।

‘माओवादीसंग निरन्तर छलफल चलिरहेको छ’, ती नेताले भने- ‘विगतको कमी कमजोरीमा समिक्षा गर्न र मिलेर जाने विषयमा अध्यक्ष केपी ओली समेत तयार देखिनुहुन्छ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...