पूर्वको ‘ब्रान्ड’ बन्दै मामा-भान्जाको सुर्यकाली चिया

देवी पोखरेल

नेपालका पूर्वी जिल्ला झापा र इलाम भन्नेबित्तिकै चिया र सुपारीको सम्झना आउँछ । यहाँ चिया बगान र चिया फ्याक्ट्री मात्रै होइन, सुपारी, अदुवा, अम्रिसो र अकबरे खुर्सानीको समेत चर्चा हुन्छ ।

यही सेरोफेरोमा झापाको बुद्धशान्ति गाउँपालिका-४ जोगिडाँडामा एउटा लोकप्रिय चिया फ्याक्ट्री छ । झापा चारआलीबाट इलाम जाने बाटो छेउमै रहेको ‘सुर्यकाली चिया फ्याक्ट्री’ बाट उत्पादन भएको ‘एस.काली चिया’ अहिले पुर्वको ब्रान्ड बन्दै गएको छ । जसको बजार विस्तार नेपाल मात्रै नभई भारतसम्म हुने गरेको छ ।

यसलाई सञ्‍चालन गरेका छन् पुन्यप्रकाश ढकाल र उनका भान्जा राजनकुमार पोखरेलले । नातामा मामा-भान्जाको सम्बन्ध जति गाढा र प्रेममय छ चिया फ्याक्ट्री सञ्चालनमा पनि मामा-भान्जा ‘ब्रान्ड’ उस्तै लोकप्रिय र आत्मिय छ । अर्थात मामा-भान्जाको सुमधुर सम्बन्ध पनि चियाको मिठास जस्तै सरल र स्वादिलो लाग्छ । मामा पुन्यप्रकाशसँगै उनका भतिज मनोज र सन्जय ढकालले फ्याक्ट्री र बजारीकरण हेर्दै आएका छन् भने भान्जा राजनले जनसम्पर्क र बजारीकरणको सम्भाव्यता अध्ययन गर्छन् ।

पुन्यप्रकाश र राजनको इलामको फिक्कलमा अर्को पनि फ्याक्ट्रीमा साझेदारी छ । सुर्योदय-११ इलाममा रहेको ‘नेपाल हिल्स अर्थडक्स’ नामको उक्त फ्याक्ट्री चाहिँ पुन्यप्रकाशका छोरा नरेश ढकालले व्यवस्थापन हेर्दै आएका छन् ।

झापा बुद्धशान्ति-४ जोगिडाँडामा रहेको सुर्यकाली चिया उद्योग ५ वर्ष अगाडि मामा पुन्यप्रकाश र भान्जा राजनसँगै सन्जय र मनोज ढकालले सुरु गरेका हुन् । हाल फ्याक्ट्रीमा नियमित काम गर्ने १५ जना छन् । फ्याक्ट्रीमा आवश्यक चियाको पात कृषकबाट डाइरेक्ट लिइन्छ । ‘फ्याक्ट्रीमा दैनिक नौ हजार किलो भन्दा बढी पात आउँछ’, पुण्यप्रसाद भन्छन्- ‘यहाँबाट वर्षमा ४ लाख केजीसम्म चिया उत्पादन हुने गरेको छ । उत्पादित चिया नेपाल बाहेक भारतमा पनि बिक्रि सुरु गरेका छौं ।’

यहाँको चिया युरोपमा समेत जाने गरेको छ तर नेपालबाट सिधा होइन । पहिले भारतीय व्यापारीले लगेपछि उनीहरुकै योजना र प्याकेजिङमा युरोपसम्म बिक्री हुन्छ । मामा पुण्यप्रसाद, भान्जा राजन र मामाको छोराहरू मनोज र सन्जय ढकालले ४ करोड रुपैयाँबाट सुरु गरेको फ्याक्ट्री अहिले १५ करोड हाराहारीमा पुगेको सञ्चालक ढकाल बताउँछन् ।

चिया उत्पादन गर्दा स्थानीय कृषक र मजदुर संगै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै मानिस रोजगारीमा जोडिएको राजन बताउँछन् । ‘देशमा आर्थिक गतिविधि बढाउने र रोजगारी सृजना गर्ने हाम्रो प्रयास हो’, सञ्चालक राजनकुमार पोखरेलले भने- ‘आफ्नै देशमा सञ्चालन भएका यस्ता फ्याक्ट्रीलाई राज्यले लगानीको संरक्षणसँगै विद्युत र बैंक ब्याजमा सहुलियत वा छुट दिन सके लगानीकर्तालाई हौसला मिल्छ’।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय