स्याङ्जा र बाजुरामा काँग्रेस, दोलखामा माओवादी उम्मेदवार अगाडि

काठमाडौं, १६ मंसिर । विवादित तीन क्षेत्रहरुमा ढिला गरी सुरु भएर जारी मतगणनामा सत्ता गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा नेपाली काँग्रेसको अग्रता छ भने दोलखामा माओवादी अगाडि रहेको छ ।

स्याङ्जा- २ मा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ ११ हजार ९२० मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २४१८ मतले पछि छन् । अर्यालको ९ हजार ५०२ मत छ ।

त्यसैगरी बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १११२ मत छ ।

दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । आज विहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाएका छन् ।

मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको आरोप एमालेले लगाएपछि बाजुरा र स्याङ्जा-२ मा मंसिर १४ गतेदेखि मात्रै मतगणना सुरु भएको थियो । दोलखामा भने हिजो पुनः मतदान भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय