ज्ञानेन्द्र र आसिफको अर्धशतकमा युएईमाथि नेपालको श्रृंखला जीत
काठमाडौं, २ मंसिर । नेपालले युएईसँगको एकदिवसीय क्रिकेट श्रृंखला जितेको छ । शुक्रबार भएको तेस्रो तथा निर्णायक खेलमा ६ विकेटको जीत निकाल्दै नेपालले श्रृंखला जितेको हो ।
जीतका लागि पाएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जीतमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेलेका थिए । आसिफ ८८ रनमा अविजित रहे भने ज्ञानेन्द्रले ६४ रन बनाए ।
त्यसअघि ओपनर अर्जुन साउदले ९ रन बनाएका थिए । कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी दुर्भाग्यपूर्ण तरिकाले अन्त्यतिर रनआउट भएका थिए । युएईका हजरत बिलाल र आयान अफजल खानले १ १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाएको थियो । ३१.३ ओभरमा ९३ रनमा ९ विकेट गुमाइसकेको युएईका लागि अन्तिम विकेटमा ८३ रनको अविजित साझेदारी बनेको थियो । यो १०औं विकेटका लागि भएको चौथो सर्वाधिक साझेदारी हो ।
आठौं नम्बरका आयान अफजल खानले अविजित रहँदै ५४ रन बनाए भने उनलाई ११औं नम्बरका हजरत बिलालले २० रन बनाएर साथ दिएका थिए । त्यसअघि अलिशान सराफुले ३३ र रोहन मुस्तफाले २४ रन बनाएर बीचतिर युएईको इनिङ सम्हालेका थिए ।
नेपाली बलरहरुले सुरुदेखि नै युएईका ब्याटरमाथि दबाब राखेपनि अन्तिम विकेट भने लिन सकेनन् । नेपालका लागि गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २-२ विकेट लिँदा सोमपाल कामी र ललित राजवंशीले १-१ विकेट लिए ।
पहिलो खेलमा ८४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।